“एह कान्छी” म्युजिक भिडियो भव्य समारोहबीच सार्वजनिक
“एह कान्छी” म्युजिक भिडियो भव्य समारोहबीच सार्वजनिक


गान्तोक, 04 जून (हि.स.)। बहुप्रतीक्षित म्युजिक भिडियो “एह कान्छी” बुधवार एक भव्य समारोहका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रममा सिक्किमभरिका विशिष्ट व्यक्तित्वहरू, सङ्गीतकर्मी, कलाकारहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तपश्री प्रोडक्सन र बीकेआर प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको उक्त म्युजिक भिडियोले स्थानीय कलाकारहरूको समृद्ध प्रतिभा र सिर्जनशीलतालाई उजागर गरेको छ।

गीतमा गायकद्वय त्रिशला गुरुङ र राईबाले सुमधुर स्वर दिएका छन् भने म्युजिक भिडियोमा नितेश गुरुङ, कृतिका प्रधान, कोमल गुरुङ र आदर्श प्रधानको अभिनय रहेको छ। उनीहरूको आकर्षक प्रस्तुतीले भिडियोको सौन्दर्य र लोकप्रियतामा थप योगदान पुर्‍याएको छ।

कार्यक्रममा सिक्किमको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथि श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, अध्यक्ष टाशी भोटिया, अध्यक्ष सञ्जय दिलपाली राई, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा तथा अन्य विशिष्ट व्यक्तित्वहरू र कला क्षेत्रका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै जेकब खालिङले “एह कान्छी” म्युजिक भिडियो निर्माणमा संलग्न सम्पूर्ण टोलीलाई बधाई दिँदै उनीहरूको समर्पण र कठिन परिश्रमको प्रशंसा गरे। उनले निर्माता, गायक, कलाकार, प्राविधिक तथा सम्पूर्ण टिमको योगदानको उच्च मूल्याङ्कन गरे।

सिर्जनात्मक उद्योगको महत्त्वबारे चर्चा गर्दै उनले सङ्गीत र दृश्य कथनले संस्कृति संरक्षण गर्न तथा समाजका आकांक्षाहरू प्रतिबिम्बित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। सिक्किमको कलाकार समुदायको तर्फबाट बोल्दै उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कलाकारहरूको हितका लागि राज्य सरकारले सञ्चालन गरेका विभिन्न पहल तथा कल्याणकारी योजनाहरूका लागि आभार व्यक्त गरे।

सरकारको निरन्तर सहयोगले स्थानीय प्रतिभाहरूलाई आत्मविश्वासका साथ आफ्नो कलात्मक यात्रालाई अघि बढाउन प्रेरणा मिलेको उल्लेख गरे। उनले कलाकारहरूलाई समकालीन जीवनशैली र संस्कृतिलाई दस्तावेजीकरण गर्ने अर्थपूर्ण सिर्जनाहरू निरन्तर निर्माण गर्न आग्रह गर्दै यस्ता कृतिहरू भविष्यका पुस्ताका लागि महत्वपूर्ण अभिलेख बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै निर्माता कोमल गुरुङले कलाकार समुदायप्रति निरन्तर सहयोग र समर्थन प्रदान गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक धन्यवाद व्यक्त गरिन्। साथै, कलाकारहरूको पक्षमा सधैं उभिएर सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्दै आएकोमा जेकब खालिङ राईप्रति पनि कृतज्ञता व्यक्त गरिन्।

तपश्री एकाडेमीका प्रमुख कोमल गुरुङले म्युजिक भिडियो निर्माणमा साथ सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै मुख्यमन्त्रीले सिक्किमको कलाकारहरूलाई गरिरहेको सहयोग र प्रोत्साहनको निम्ति आभार व्यक्त गरिन्। २०१४ मा स्थापित तपश्री एकाडेमीका प्रमुख कार्य र सफलताका कथा पनि साझा गरिन्।

कार्यक्रमको समापन “एह कान्छी” म्युजिक भिडियोको औपचारिक सार्वजनिकसँगै कलाकार र सहयोग पुऱ्याउनेहरूलाई अभिनन्दन गरियो।। उपस्थित सबैले भिडियोको सफलताको शुभकामना व्यक्त गर्दै यसले राज्यभित्र तथा बाहिरका दर्शकमाझ राम्रो स्थान बनाउने विश्वास व्यक्त गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande