
खरसाङ, 09 जून (हि.स.)। खरसाङको लङ्भ्यु चियाबारीका मालिक गोविन गर्ग विरुद्ध कानूनी कारवाही गर्नुपर्ने माग गर्दै आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र चढाएको छ। खरसाङ महकुमा अन्तर्गत लङभ्यु चिया बगानमा कार्यरत् श्रमिकहरूले आफ्नो हक र अधिकारको माग गर्दै विगत 47 दिनदेखि धरना प्रदर्शन जारी राखेका छन्।
लङ्भ्यु चियाबारीको श्रमिकहरूले अविलम्ब न्याय पाउनुपर्छ भन्ने संघले आफ्नो स्पष्ट अडान राखेको छ। संघको केन्द्रिय अध्यक्ष डीके गुरूङको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले खरसाङ महकुमा शासकसँग भेट गऱ्यो। यस अवधि लङ्भ्यु चियाबारीका श्रमिकहरूलाई अविलम्ब न्याय दिनुका साथै बगानका मालिक विरुद्ध एफआईआर दर्ता गर्नु ज्ञापन पत्र चढाइएको छ।
यसैगरी, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टोलीले खरसाङ पुलिस थानामा पनि लङ्भ्यु चियाबारीका श्रमिकहरूमाथि भइरहेको अन्याय र अत्यचारबारे अवगत गराएको छ। यसरी नै गुरूङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले सिलगढीको भविष्य निधि तथा पीएफ कार्यालय पुगेर विभागीय अधिकारीसँग भेट गरेको छ। टोलीले लङ्भ्यु चियाबारीका मालिक विरूद्ध एफआईआर दर्ता गरेर कानुनी कारवाही गर्न माग गर्दै ज्ञापन पत्र चढाएको छ।
हिन्दुस्थान समाचार / हनोक