सिलगढ़ीलाई दार्जिलिङ जिल्लाबाट छुट्याउनु नहुने माग गर्दै विधायक नोमन राईलाई ज्ञापन
गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा विधायक नोमन राईलाई बुझाए ज्ञापन पत्र


दार्जिलिङ, 09 जून (हि.स.)। मतिगढ़ा नक्सलबारी विधानसभा क्षेत्रका विधायक आनन्दमय बर्मनले उठाएको दार्जिलिङबाट छुट्याएर सिलगढ़ीलाई अलग जिल्ला बनाउने माग पूरा भए दार्जिलिङले फेरि पनि अर्को नोक्सानी भोग्नु पर्ने बताउॅंदै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले राज्यका मुख्यमन्त्री लगायत लोकसभा संसद राजु विष्ट, राज्यसभा सांसद हर्षवर्द्धन श्रृङ्गला, कालेबुङका विधायक भरत छेत्री र खरसाङका विधायक सोनाम लामालाई पत्राचार गरिसकेको छ।

यसै क्रममा मंगलवार दार्जिलिङका विधायक नोमन राईलाई भेटेर सिलगढ़ीलाई समूहले ज्ञापन पत्र बुझाएको छ। समूहको पक्षबाट तराईका विभिन्न जातीय संघ संस्थाहरुलाई पनि पत्राचार अनि भेटघाट गरेर यस विषयमा पहल गरिनु पर्ने अनुरोध गरिसकेको छ।

समूहले भनेको छ, 'विगतमा दार्जिलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) गठन हुँदा, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन गठन हुँदा, सिलगढ़ी महकुमा परिषद गठन हुँदा अनि माल-मटेलीलाई छुट्याउँदा सिलगढ़ी लगायत डुवर्सबाट दार्जिलिङको भावानात्मक सम्बन्धमा दरार आएको इतिहास साक्षी छ। अब अझैं विगतका ती भूलहरु दोहोरिनु हुँदैन। त्यसको निम्ति हामीले नै पहल गर्नुपर्छ भन्ने सोंच राखेर गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले पत्राचारहरु गर्ने काम गरिरहेको छ।

समूहले तराई अनि डुवर्स गोर्खाल्याण्डको मानचित्रभित्र पर्ने भू-भाग रहेकाले विगतमा जसरी दार्जिलिङसँगको सम्बन्धमा विच्छेद्ध गर्ने काम भए, अझैं त्यस्तो काम गरिनु हुँदैन भनी बताएको छ। समूहले भनेको छ, हाम्रा पुर्खाहरुले बसाएको अनि बनाएको तराई अनि डुवर्सले गोर्खाहरूको इतिहास बोकेको छ। तर, यी भू-भागहरूबाट बिस्तारै गोर्खाहरुको इतिहास मेटिॅंदै गइरहेको छ। सिलगढ़ीलाई दार्जिलिङ जिल्लाबाट अलग गरिए अर्को एउटा नोक्सानी दार्जिलिङ सँगसँगै गोर्खा जातिले भोग्नु पर्नेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande