
खरसाङ, 09 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत शिवखोला शाखामा आयोजित समर्थन कार्यक्रममा विभिन्न क्षेत्रका 150 घरपरिवारहरु गोरामुमोमा सामेल भएका छन्। जेएस लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिविटार, तीनधारे चियाबारी, तीनधारे गोलाई पाखा, चुनभट्टी गोलाई तथा नयाँ कमान क्षेत्रका परिवारहरूले पार्टीप्रति समर्थन जनाउँदै सदस्यता ग्रहण गरेको जानकारी प्राप्त भएको छ।
कार्यक्रममा नवप्रवेशी सदस्यहरूलाई गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूले खादा लगाएर स्वागत तथा शुभकामना व्यक्त गरे। यस अवसरमा बोल्दै गोरामुमोका वरिष्ठ नेता महेन्द्र छेत्रीले गोर्खा समुदाय एकजुट भएर आफ्नो अधिकार र पहिचानको संरक्षणका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले गोर्खा जातिको दीर्घकालीन आकांक्षा तथा संवैधानिक अधिकार सुनिश्चित गर्ने दिशामा सामूहिक प्रयास आवश्यक रहेको बताए।
छेत्रीले गोर्खा समुदायको भविष्य सुरक्षित गर्न व्यक्तिगत वा दलगत स्वार्थभन्दामाथि उठेर साझा लक्ष्यतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। उनले स्वर्गीय सुवास घिसिङले देखाएको सपना साकार पार्न अहिलेको समय उपयुक्त रहेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
समर्थन कार्यक्रममा खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, वरिष्ठ नेता महेन्द्र छेत्री, ए. के. देवान, तराई सुकना क्षेत्रका संयोजक नितिन छेत्री, प्रचार–प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्री, एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक