
गान्तोक, 09 जून (हि.स.)। डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार 2026 सहायक प्राद्यापक डा. सुचन प्रधानलाई प्रदान गरिने भएको छ। डा. शोभाकान्ति थेगिम स्मरक ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरे। पत्रकार सम्मेलनमा ट्रस्टका ट्रस्टीद्वय डा. उदय छेत्री र जोसेफ लेप्चा पनि उपस्थित थिए।
डा. शोभाकान्ति थेगिम स्मरक ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चाले डा. शोभाकान्ति थेगिमको स्मृतिमा 1997 मा स्थापित ट्रस्टले 1998 देखि पुरस्कार प्रदान गर्न शुरू गरेको जानकारी गराए। उनले 29औं डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कारका लागि गत वर्ष दिसम्बर महिनादेखि मनोनयन शुरू गरिएको र धेरै पुस्तकहरू प्राप्त भएको बताए।
उनले ट्रस्टको दुई स्तरीय चयन प्रक्रिया अनुसार तीनवटा पुस्तक छनोट गरिएको र अन्तत: चयन समितिले डा. सुचन प्रधानलाई पुरस्कारको निम्ति चयन गरेको अवगत गराए। कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राद्यापक डा. प्रधानको कविता सङ्ग्रह 'झ्यालिन्चा' लाई उक्त पुरस्कारले सम्मानित गरिने बताए। उनले पुरस्कारको निम्ति नाम चयन गरिएपछि ट्रस्टले पुरस्कार प्राप्त गर्ने व्यक्तिबाट पनि स्वीकृति लिइसकेको बताए।
यस अघि ट्रस्टी जोसेफ लेप्चाले डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार 2026 आगामी 4 जुलाईमा प्रदान गरिने र आज पुरस्कारको घोषणा गरिएको बताए।
हिन्दुस्थान समाचार / बिशाल