भारत-इन्डोनेसिया सम्बन्धको नयाँ स्वर्णिम अध्याय शुरु, २१औँ शताब्दीमा सकारात्मक प्रभाव पर्ने : मोदी
प्रधानमंत्री नरेन्द्र मोदी मंगलवार को जकार्ता में प्रेस वार्ता को संबोधित करते हुए


जकार्ता, 0७ जुलाई (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्धको नयाँ स्वर्णिम अध्याय शुरु भएको बताएका छन्। यसको सकारात्मक प्रभाव २१औँ शताब्दीको विश्व र सम्पूर्ण मानवतामा पर्ने उनले उल्लेख गरे। सन् २०१८ मा स्थापना भएको व्यापक रणनीतिक साझेदारीले अहिले नयाँ उचाइ हासिल गरिरहेको र दुवै देश विकास, सुरक्षा, प्रविधि, संस्कृति तथा शिक्षालगायत सबै क्षेत्रमा महत्त्वपूर्ण रूपमा अघि बढिरहेको उनले बताए।

इन्डोनेसियाका राष्ट्रपति प्रभुवो सुबियांतोसँग द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुवै देशबीच बढ्दो विश्वासले रक्षा, सुरक्षा तथा समुद्री सहकार्यलाई थप मजबुत बनाएको बताए। रक्षा आदान-प्रदान, विपद् व्यवस्थापन र औद्योगिक सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको तथा दुवै देशका तटरक्षक बलले हिन्द महासागरमा समुद्री सुरक्षा सुनिश्चित गर्न संयुक्त रूपमा काम गर्ने उनले जानकारी दिए।

उनका अनुसार, भारत र इन्डोनेसियाले ब्लु इकोनोमी, बन्दरगाह विकास तथा समुद्री व्यापारमा सहकार्य विस्तार गर्ने निर्णय गरेका छन्। यसले हिन्द-प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रधानमन्त्री मोदीले गरिबी निवारण र नागरिकसम्म कल्याणकारी योजनाको लाभ पुर्‍याउनु दुवै देशको साझा प्राथमिकता रहेको बताए। भारतले आफ्नो मीड-डे मील योजना र सार्वजनिक वितरण प्रणालीको अनुभव इन्डोनेसियासँग साझा गरेको तथा अब यस सहकार्यलाई थप विस्तार गरिने उनले बताए।

स्वास्थ्य क्षेत्रमा भएको सम्झौताबाट भारतका उच्च गुणस्तरका तथा सुलभ औषधि इन्डोनेसियाका नागरिकसम्म सहज रूपमा पुग्नेछन्। साथै भारतले इन्डोनेसियाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा पनि सहयोग गर्नेछ।

भारतमा विकसित गहुँका बीउको आपूर्तिले इन्डोनेसियाको खाद्य सुरक्षालाई मजबुत बनाउने तथा दिगो कृषि र कृषि प्रविधिका क्षेत्रमा दुवै देशले अनुभव आदान-प्रदान गर्ने सहमति भएको उनले बताए।

प्रविधि सहकार्यलाई जोड दिँदै प्रधानमन्त्री मोदीले २१औँ शताब्दी प्रविधिमा आधारित शताब्दी भएको र भारत तथा इन्डोनेसिया दुवै युवा शक्तिले सम्पन्न राष्ट्र भएको बताए। कृत्रिम बुद्धिमत्ता (एआई), दूरसञ्चार, डिजिटल सार्वजनिक पूर्वाधार तथा स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न महत्त्वपूर्ण सम्झौताहरू भएका छन्। साथै आईआईएल बेङ्गलोरले इन्डोनेसियामा आफ्नो क्याम्पस स्थापना गर्ने, जसबाट सम्पूर्ण आसियान क्षेत्रका युवाले लाभ पाउनेछन्।

उनले अन्तरिक्ष क्षेत्रमा पनि दुवै देशबीच लामो समयदेखि विश्वसनीय सहकार्य रहँदै आएको उल्लेख गर्दै संयुक्त अनुसन्धान, प्रविधि हस्तान्तरण तथा क्षमता विकाससम्बन्धी महत्त्वपूर्ण निर्णयहरू भएको जानकारी दिए।

महत्त्वपूर्ण खनिज तथा इस्पात क्षेत्रको आपूर्ति शृङ्खला सुदृढ़ बनाउन पनि सम्झौता भएको र दुवै देशका कम्पनीहरूले स्टेनलेस स्टील तथा रेयर अर्थ म्याग्नेट क्षेत्रमा नयाँ साझेदारी सुरु गर्ने उनले बताए।

जनस्तरको सम्पर्कलाई दुवै देशको सम्बन्धको सबैभन्दा ठूलो शक्ति बताउँदै प्रधानमन्त्री मोदीले भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणालीलाई इन्डोनेसियाको भुक्तानी प्रणालीसँग जोडिने जानकारी दिए, जसबाट व्यापार र यात्रामा सहजता आउनेछ।

मोदीले राष्ट्रपति प्रभुवोसँग मिलेर योग्यकार्तास्थित एक हजार वर्षभन्दा पुरानो प्रम्बानन मन्दिर संरक्षण परियोजनाको शुभारम्भ गर्ने बताए। साथै रविन्द्रनाथ टैगोरको ऐतिहासिक इन्डोनेसिया भ्रमणको शताब्दीलाई ‘टैगोर-देवान्तरा सांस्कृतिक तथा शैक्षिक कूटनीति वर्ष’ का रूपमा मनाइने जानकारी दिए।

उनले लोकतान्त्रिक मूल्य र विविधतामा एकता दुवै देशको साझा शक्ति रहेको उल्लेख गर्दै दुवै देशका निर्वाचन आयोगबीच भएको सम्झौताले लोकतान्त्रिक सहकार्यलाई थप सुदृढ बनाउने बताए।

वैश्विक विषयमा बोल्दै प्रधानमन्त्री मोदीले हिन्द-प्रशान्त क्षेत्रप्रति भारत र इन्डोनेसियाको दृष्टिकोण समान रहेको तथा भारत सधैँ आसियानको केन्द्रिय भूमिकाको समर्थक रहेको बताए। विश्वव्यापी अस्थिरताको समयमा संवाद र कूटनीतिक प्रयासको महत्त्व अझ बढेको उल्लेख गर्दै उनले प्यालेस्टाइन सम्बन्धी विषयमा भारतले दुई-राष्ट्र समाधान र दीर्घकालीन शान्तिको समर्थन गर्ने पुनः दोहोर्‍याए।

उनले साझा इतिहास, साझा विश्वास र साझा समृद्धिको आधारमा दुवै देशले इन्डोनेसियाको ‘इन्डोनेसिया एमास’ र भारतको ‘विकसित भारत’ को लक्ष्य साकार पार्ने विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande