अमेरिकाको टेनेसी सैन्य कारखानामा विस्फोट, १९ जना बेपत्ता, सबैको मृत्यु भएको आशंका
अमेरिकाको टेनेसी सैन्य कारखानामा विस्फोट, १९ जना बेपत्ता, सबैको मृत्यु भएको आशंका


वाशिङ्टन, ११ अक्टोबर (हि.स.)। अमेरिकाको टेनेसी राज्यको ग्रामीण क्षेत्रमा रहेको एक पहाडी भागमा स्थित टेनेसी सैन्य गोली–बारुद कारखानामा भएको भीषण विस्फोटमा १९ जना बेपत्ता भएका छन्। अधिकारीहरूले ती सबैको मृत्यु भएको आशंका व्यक्त गरेका छन्।

हम्फ्रिज काउण्टीका शेरिफ क्रिस डेभिसका अनुसार, सेनाका लागि गोली–बारुद उत्पादन गर्ने कम्पनी एक्यूरेट एनर्जेटिक सिस्टम्स को परिसरमा विस्फोट हुँदा ठूलो आवाजसँगै पूरा क्षेत्र हल्लिएको थियो।

एबीसी न्युज र अस्ट्रेलियन ब्रडकास्टिङ्ग कर्पोरेसनका रिपोर्टअनुसार, कुनै पनि अधिकारीले अझै कति जनाको मृत्यु भयो भन्ने पुष्टि गरेका छैनन्, तर सबैको भनाइ एउटै छ १९ जना बेपत्ता छन् र उनीहरू बाँचाेकाे सम्भावना निकै कम छ। शेरिफका अनुसार, कारखाना पूरै जलेर खरानी भएको छ। विस्फोट १० अक्टोबर बिहान करिब ७:४५ बजे (स्थानीय समय) भएको थियो। स्थानीयहरूले धेरै टाडासम्म विस्फोटको आवाज सुनेको बताए।

कम्पनीको वेबसाइटका अनुसार, एक्यूरेट एनर्जेटिक सिस्टम्सले नैशभिलबाट करिब ९७ किलोमिटर दक्षिण–पश्चिममा रहेको बक्सनोर्ट क्षेत्रका पहाडमा फैलिएका आठ भवनहरूमा विस्फोटक पदार्थ उत्पादन र परीक्षण गर्छ। अमेरिकी सेना संघका अनुसार, यसको ग्राहकहरूमा रक्षा मन्त्रालय र होमल्यान्ड सेक्युरिटी विभाग पनि छन्।

अधिकारीहरूले जनाए अनुसार, विस्फोटका कारण कारखानाको एउटा भवन पूर्ण रूपमा ध्वस्त भएको छ। टेनेसीका गभर्नर बिल लीले यो दुःखद घटना भएको उल्लेख गर्दै अवस्थामाथि निगरानी राखिरहेको बताए।

हम्फ्रिज काउण्टी आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता ग्रे कोलियरका अनुसार, हाल घटनास्थलमा कुनै थप खतरा छैन र स्थिति नियन्त्रणमा छ। म्याकएभेनका मेयर ब्रेड रैचफोर्डले भने, यो हाम्रो समुदायका लागि ठूलो त्रासदी हो।

शेरिफ डेभिसका अनुसार, अल्कोहल, तम्बाकू, आग्नेयास्त्र र विस्फोटक ब्युरो, होमल्यान्ड सेक्युरिटी, र टेनेसी ब्युरो अफ इनभेस्टिगेशन का अधिकारीहरू पनि घटनास्थलमा पुगेका छन्। डेभिसले भने, कम्पनीले सबै किसिमले सहयोग गरिरहेको छ।

-------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande