हमासका बन्धकहरूको मुक्तिको मामिलामा नयाँ सूचीमा नेपालका बिपिन जोशीको नाम पनि समावेश
Bipin joshi


काठमाण्डौं, 12 अक्टोबर (हि.स.)। हमास र इजरायलबीचको युद्धविराम सम्झौताका प्रारम्भिक चरणअन्तर्गत सोमबार अपेक्षित मुक्तिका लागि जीवित बन्धकहरूको सूचीमा नेपाली नागरिक बिपिन जोशीको नाम पनि समावेश गरिएको छ।

आइतवार टाइम्स अफ इजरायल र वाशिङ्टन पोस्टले जनाए अनुसार, बिपिन ती व्यक्तिहरूमध्ये एक हुन्, जसको जीवित भएको पुष्टि गरिएको छ। यसअघि सार्वजनिक गरिएको सूचीमा बिपिन जोशीको अवस्थालाई अज्ञात भनेर उल्लेख गरिएको थियो। तर हमासका नेताहरूलाई उद्धृत गर्दै वाशिङ्टन पोस्ट, द टाइम्स अफ इजरायल र एसोसिएटेड प्रेस द्वारा प्रकाशित नयाँ सूचीमा उनी जीवित भएको पुष्टि गरिएको हो।

हाल जीवित ठानिएका सबै बन्धक पुरुष हुन्, जसमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेका छन्। युद्धविरामको अघिल्लो चरणमा ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषहरूको रिहाइ गरिएको थियो।

नेपाली विद्यार्थी बिपिन जोशी दक्षिण इजरायलको एलुमिम किबुत्ज क्षेत्रमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। उनका परिवारले गाजामा इजरायली सेनाले हालै फेला पारेको भिडियो प्राप्त भएको पुष्टि गरेका छन्, जसमा उनी जीवित देखिएका छन्। अनुमान गरिएको छ कि उक्त फुटेज सन् २०२३ को नोभेम्बरमा रेकर्ड गरिएको हो।

अपहरण हुनु भन्दा एक महिना अघि मात्र बिपिन जोशी इजरायल पुगेका थिए। उनी गाजाको सीमामा अवस्थित एलुमिम किबुत्जमा काम गर्न र कृषि अध्ययन गर्न इजरायल गएका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande