खरसाङ, 12 अक्टोबर (हि.स.)। तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको खेल मैदानमा युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबको आयोजनामा आइतवारदेखि नगद राशि फुटबल टुर्नामेन्ट शुरु भएको छ। पहिलो दिनको उद्घाटन खेल घैयाबारी र सिविटारमाझ सम्पन्न भयो। यस खेलमा सिविटारको तर्फबाट एक मात्र गोल प्रवेश राईले गरेका थिए, जुन निर्णायक साबित भयो। सिविटार 1-0 अन्तरले विजयी बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ।
उद्घाटन खेलमा अतिथिको रुपमा घुम्ती चियाबारीका प्रबन्धक, पञ्चायत प्रधान, भूतपूर्व सैनिक लगायत स्थानीय वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए। दोस्रो दिनको खेल आगामी 18 अक्टोबरमा हुने भएको छ। उक्त दिन दुईवटा खेलहरु हुनेछन्। पहिलो खेल अलि बक्स र लवाङ 7 अनि दोस्रो खेल तिरसठ स्पोर्टिङ्ग क्लब र गिद्धे नेताजी कोठीमाझ सम्पन्न हुने जानकारी आयोजक समितिको तर्फबाट बसन्त राईले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक