राज्यस्तरीय बक्सिङ च्याम्पियनसिप २०२५ सम्पन्न, युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन
Boxing championship


गान्तोक, 15 अक्टूबर (हि.स.)।

सिक्किम राज्य स्थापना स्वर्ण जयन्तीको अवसरमा आयोजित ५० वर्ष राज्य स्थापना बक्सिङ राज्यस्तरीय च्याम्पियनसिप आज गान्तोकस्थित ह्वाइट हल कम्प्लेक्सको बक्सिङ हलमा सम्पन्न भयो। दुई दिनसम्म सञ्चालन भएको यो प्रतियोगिता सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजना गरिएको हो थियो।

समापन समारोहका प्रमुख अतिथि ग्रामीण विकास तथा सहकारिता विभागका मन्त्री अरुण उप्रेती तथा विशिष्ट अतिथिको रूपमा गान्तोक नगर निगमकी उप–मेयर छिरिङ पाल्देन भोटिया, सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जे भोटिया, र राज्य युवा विकास बोर्डका अध्यक्ष बसन्त योञ्जन उपस्थित थिए।

प्रतियोगितामा १२ जना बालिका र ३९ जना बालकसहित कुल ५१ जना युवा खेलाडीहरूले सहभागिता जनाएका थिए, जसले अण्डर–१७ जुनियर बोइज तथा गर्ल्स वर्ग अन्तर्गत विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

आफ्नो सम्बोधनमा प्रमुख अतिथि अरुण उप्रेतीले सबै विजेताहरूलाई हार्दिक बधाई दिँदै हरेक सहभागी खेलाडीको उत्साही सहभागिताको प्रशंसा गरे। उनले राज्यमा बढ्दै गएको खेलसंस्कृतिप्रति गर्व व्यक्त गर्दै सरकारका गाउँस्तरका प्रतियोगिता र तृणमूल विकासमा केन्द्रित पहलले युवा प्रतिभा निखार्न मद्दत गरेको बताए।

मन्त्रीले सिक्किमका खेलाडीहरूले हालका वर्षहरूमा राष्ट्रिय स्तरमा निरन्तर पदक जित्दै राज्यको नाम उच्च राखेको बताउँदै निकट भविष्यमा अन्तरराष्ट्रिय स्तरमा पनि सिक्किमले सफलता प्राप्त गर्ने आत्मविश्वास व्यक्त गरे। उनले आयोजन समिति र विभागीय टोलीको समर्पण र उत्कृष्ट समन्वयको प्रशंसा गरे।

टिम च्याम्पियनसिप अन्तर्गत अण्डर–१७ जुनियर बोइज वर्गमा गान्तोक जिल्ला विजेता र पाकिम जिल्ला उप-विजेता बन्यो। यसरी नै अण्डर–१७ जुनियर गर्ल्स वर्गमा नामची जिल्ला विजेता र मङ्गन जिल्ला उप–विजेता बन्यो।

कार्यक्रमको अन्त्यमा विजेताहरूलाई पदक, ट्रफी र प्रमाणपत्र वितरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande