छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे
छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे


गान्तोक, 15 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले नवगठित गान्तोक जिल्ला कमिटी र मण्डल कमिटी (सङ्घ) का पदाधिकारीहरूलाई स्वागत जनाएको छ। राजधानीको इन्दिरा बाइपासस्थित पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा नवनियुक्त पदाधिकारीहरूलाई स्वागत एवं सम्मान जनाइयो। कार्यक्रममा प्रदेश भाजपा अध्यक्ष डीआर थापा, मुख्य सल्लाहकार छितेन टाशी भोटिया र पार्टी कार्यकारीहरू उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिॅंदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा शुरू गरिएका विभिन्न कल्याण योजनाहरूको बारेमा जानकारी गराए। उनले यी योजनाहरूको महत्वमाथि जोड दिॅंदै विद्या लक्ष्मीको उल्लेख गरे, जसले विद्यार्थीहरूलाई शिक्षा लोन लिन सहज पहुॅंच सुनिश्चित गर्छ भने आयुष्मान भारत योजनाले वरिष्ठ नागरिकहरूलाई पॉंच लाख रूपियॉंसम्मको चिकित्सा बीमा प्रदान गर्दछ भनी बताए।

मुख्य सल्लाहकार भोटियाले आफ्नो सम्बोधनमा वर्तमान सरकारको कार्यकालमा बौद्ध भावनाहरूको बढ्दो उपेक्षाप्रति गहिरो चिन्ता प्रकट गरे। हालैका एक घटनाको उल्लेख गर्दै उनले एक ट्याटू आर्टिस्टले भगवान चेरेजीको चित्र शरीरको तल्लो भागमा बनाएको बताए। उनले यस सन्दर्भमा राज्य प्रशासन र धर्म विभागको मौनताप्रति प्रश्न गर्दै सिक्किममा धार्मिक भावनाहरूको सुरक्षा गर्ने उनीहरूलाई विशेष जनमत प्राप्त रहेको बताए।

मुख्य सल्लाहकार भोटियाले हाम्रो विश्वास र संस्कृतिको रक्षा गर्ने जिम्मेवारी प्राप्तहरू यदि कारबाही गर्न विफल बन्छन् भने उनीहरू पछाडि हटेर अन्यहरूलाई इमानदारी र सम्मानका साथ समुदायको सेवा गर्न दिनुपर्छ भने। उनले सरकारलाई बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गर्दै यी कुराहरू सिक्किमको सांस्कृतिक संरचनाको अभिन्न अंग रहेको बताए।

यसैगरी, उनले आर्थिक र शासन सम्बन्धी चिन्ताहरू उठाउॅंदै राज्य सरकारको बढ्दो ऋणको भार र यसको भावी पुस्तामाथि दिर्घकालिक प्रभावप्रति ध्यान आकर्षित गराए। उनले एनडीए गठबन्धनको हिस्सा भए तापनि सिक्किममा भाजपा समर्थकहरू किन भक्टिमाइजेशनको शिकार बनिरहेका छन् भनी प्रश्न गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande