सोनादा, 15 अक्टूबर (हि.स.)। हालै आएको भीषण वर्षा र पैह्रोका कारण प्रभावित सोनादा क्षेत्रका विभिन्न स्थानहरुमा राहत सामग्रीहरु वितरण गरिएको छ। पैह्रो प्रभावित क्षेत्रहरु रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुराका विभिन्न स्थानहरु र सोनादा पचेङ समष्टिको फूलबारी गाउँका परिवारहरूलाई भारतीय जनता पार्टीद्वारा राहत सामग्री वितरण गरिएको छ।
यस प्राकृतिक विपत्तिमा धेरै घरहरूमा क्षति पुगेको छ र एक जनाको ज्यानसमेत गुमिएको दुःखद घटना घटेको छ। प्रभावित परिवारहरूमध्ये 35 परिवारलाई राहत सामग्री वितरण गरिएको हो। राहत वितरण कार्यक्रममा भाजपा जिल्ला महासचिव सोनाम लामा, सोनादा मण्डल अध्यक्ष मीना थापा र ट्रेड युनियनका प्रणय शेर्पा उपस्थित रहेका थिए। उनीहरूले व्यक्तिगत रूपमा पीडित परिवारहरूलाई राहत सामग्रीहरू वितरण गरे।
भाजपाले विपद्को यस कठिन समयमा प्रभावित परिवारहरूसँग ऐक्यबद्धता जनाउँदै सहयोगको हात अघि बढाएको बताइएको छ। प्रभावित क्षेत्रका स्थानीय मानिसहरूले पार्टीको यो पहलप्रति आभार व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक