खरसाङ, 16 अक्टबर (हि.स.)। तीनधारे महानदी समष्टिको घैयाबारीस्थित ब्लु डाइमण्ड अंग्रेजी स्कूलमा विद्यार्थीहरुलाई लिएर देऊसी भैलो प्रतियोगिता सम्पन्न भएको छ। स्कूलको चारवटा हाउसहरुलाई लिएर आयोजित देऊसी भैलो प्रतियोगिता कार्यक्रममा विद्यार्थीहरुले जातीय पहिरनमा देऊसी र भैलो प्रस्तुत गरेका थिए।
यस प्रतियोगितामा स्कूलको चारवटा हाउसहरु क्रमैले क्यामेलिया, मेरीगोल्ड, अर्किड र लोटसका विद्यार्थीहरुले भाग लिएका थिए। शिक्षिकाद्वय पूर्णिमा छेत्री र सुप्रिया राईले सञ्चालन गरेको यस प्रतियोगितामा निर्णायकको रुपमा शिक्षिकाहरु क्रमैले प्रेरणा गुरुङ, बिनुमा राई, सुबला छेत्री, कुर्साङ लामा आदि रहेका थिए।
यस प्रतियोगितामा ब्लु डाइमण्ड अंग्रेजी स्कूलका निर्देशक बीबी थापा र प्रोप्राइटर लिला थापा विशेष रुपमा उपस्थित रहेका थिए। प्रतियोगिता अन्तर्गत देऊसीमा अर्किड हाउस विजय बनेका छन् भने भैलोमा लोटस र मेरीगोल्ड बराबर भएकोले दुवैलाई विजय घोषित गरिएको छ।
विजयी प्रतियोगीहरुलाई स्कूलका निर्देशक बीबी थापा र प्रोप्राइटर लिला थापाको बाहुलीबाट ट्राफीहरु प्रदान गरिएको स्कूलकी सह शिक्षिका पूर्णिमा छेत्रीले जानकारी गराएकी छन्।
हिन्दुस्थान समाचार / हनोक