राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा विरोध प्रदर्शन
राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा विरोध प्रदर्शन


गान्तोक, 16 अक्टबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले चालक परिषदको समन्वयमा आज राजधानीको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा एक दिवसीय शान्तिपूर्ण विरोध प्रदर्शन एवं हस्ताक्षर अभियान आयोजन गऱ्यो। जनतालाई जागरूक गर्न र राष्ट्रिय राजमार्ग 10 को बिग्रँदै गएको अवस्थाप्रति केन्द्र सरकारको तत्काल हस्तक्षेपको माग गर्दै उक्त कार्यक्रम आयोजना गरिएको थियो।

शान्तिपूर्ण विरोध प्रदर्शनको अगुवाई सीएपी चालक परिषदका अध्यक्ष आशिष राईले गरेका थिए। प्रदर्शनमा सीएपीका वरिष्ठ पदाधिकारीहरू, राज्यभरिबाट आएका चालकहरू र परिवहन सञ्चालकहरू सहभागी बने तथा लामो समयदेखि चलिरहेको राजमार्ग संकटप्रति आफ्नो बढ्दो पीडा व्यक्त गरे।

सीएपी चालक परिषदका महासचिव टिका राईले आज जारी एक प्रेस विज्ञप्तिमा भने, पश्चिम बंगालको सिलगढ़ीलाई गान्तोकसँग जोड्ने राष्ट्रिय राजमार्ग 10 पैह्रो र टिस्टा करिडोरमा अवैज्ञानिक निर्माण गतिविधिका कारण बारम्बार भत्किने र अवरोधहरूको सामना गर्नु परेको छ। अक्टोबर 2023 मा हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफF) पछि स्थिति झनै बिग्रियो, जसले गर्दा राजमार्गका केही भागहरू अस्थिर र बारम्बार दुर्गम बनेका छन्। उनले यो निरन्तरको अवरोधले सिक्किमको अर्थतन्त्र र दैनिक जीवनमा व्यापक प्रभाव पारेको बताएका छन्।

विरोध प्रदर्शनको क्रममा सीएपी सिक्किम र चालक परिषदले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन प्रेषित गरेर प्रधानमन्त्रीको व्यक्तिगत हस्तक्षेप र राष्ट्रिय राजमार्ग 10 को स्थितिमाथि केन्द्रिय समीक्षाको माग गरेका छन्। यसैगरी, प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरिएको निवेदनमा नागरिकहरूले हस्ताक्षर गरे।

सीएपी चालक परिषदका अध्यक्ष आशिष राईले यो विरोध प्रदर्शन कसैको विरुद्धमा नभइ प्रत्येक सिक्किमे नागरिकको पक्षमा गरिएको बताए। उनले राष्ट्रिय राजमार्ग 10 हाम्रो जीवनरेखा हो भन्दै यसको पुनर्स्थापनामा हुने हरेक ढिलाइले हाम्रो पीडालाई अझ गम्भीर बनाउँछ भनी बताए। उनले यस विषयलाई एक राष्ट्रिय प्राथमिकताको रूपमा लिन प्रधानमन्त्रीलाई आह्वान पनि गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande