खरसाङ, 16 अक्टबर (हि.स.)। तीनधारे पास्टोरेट चर्च अफ् नर्थ इण्डियाको आयोजनामा विद्यार्थीहरुलाई लिएर विभिन्न विषयमा एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा तीनधारे पास्टोरेटका इन्चार्ज रेभरेन्ट राजेन केरकेटा उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित रहेका थिए।
कार्यक्रममा 'बालबालिकाहरूको पढाई र अभिभावकत्वमा सोसियल मिडियाको प्रभाव' अनि 'साइबर सुरक्षा र करियर मार्गदर्शन' विषयमा आमन्त्रित स्रोत वक्ताहरुले सचेतना गराए। तीनधारे पास्टोरेटकी सचिव एवं आईएनए मेमोरियल हाई स्कूलकी प्रधान अध्यापिका रुथरानी राईले सञ्चालन गरेको कार्यक्रममा स्वागतको कार्यक्रम विजयादान गुरुङले गरेकी थिइन्।
कार्यक्रममा सर्वप्रथम बालबालिकाहरूको पढाई र अभिभावकत्वमा सोसियल मिडियाको प्रभाव विषयमा कालेबुङबाट आएका सामाजिक कार्यकर्ता एवं दिशा कालेबुङका निर्मल छेत्रीले विद्यार्थी नानीहरु र अभिभावकहरुलाई सचेतना गराए। उनले विद्यार्थी नानीहरुमा सोसियल मिडियाको प्रभाव साथै यसको सदुपयोग र समयको सदुपयोग विषयमा रोचक ढंगले सचेतना गराएका थिए।
त्यसरी नै 'साइबर सुरक्षा र करियर मार्ग दर्शन' मा सन्त जोसेफ कलेज दार्जिलिङका प्राध्यापक प्रवीण मुखिया टाइटमसले सचेतना गराए। कार्यक्रममा तीनधारे महानदी समष्टिका छवटा विद्यालयहरुका विद्यार्थीहरु, अभिभावकहरु र शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन एल्डर मसीह प्रकाश मोक्तानले राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक