माकपा दार्जिलिङ जिल्ला कमिटीद्वारा दुधेको तरुवामा राहत सामग्रीहरु वितरण
माकपा दार्जिलिङ जिल्ला कमिटीद्वारा दुधेको तरुवामा राहत सामग्रीहरु वितरण


खरसाङ, 16 अक्टबर (हि.स.)। राहत सामग्रीहरु वितरण कार्यलाई निरन्तरता दिँदै आज भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) दार्जिलिङ जिल्ला कमिटीले दुधेको तरुवा क्षेत्रमा बाढीबाट प्रभावित पीडितहरूलाई सहयोग प्रदान गरेको छ। आउँदो जाडो महिनाको तयारीका लागि न्यानो सामग्रीहरू जस्तै कम्बल, ज्याकेट, पुलओभर र पाइन्ट आदि वितरण गरिएको छ।

यस टोलीलाई माकपा जिल्ला सचिव एवं पूर्व सांसद समन पाठकले नेतृत्व गरेका थिए भने यस टोलीमा उपस्थित जिल्ला सचिव मण्डली सदस्य कमरेड सचिन खाती लगायतका अन्यहरू पनि कार्यक्रममा सहभागी थिए।

यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै पूर्व सांसद एवं जिल्ला सचिव समन पाठकले यो आपदाले कसैको ज्यान गएको छ, कसैको घर क्षति भएको छ, कसैको गरिखाने माध्यम गएको छ भन्दै दुधेको तरुवामा पनि धेरै क्षति भएको बताए। उनले‌ आफ्नो पार्टीको तर्फबाट विभिन्न स्थानहरुमा रिलिफ सामग्रीहरू वितरण गरिरहेको र यस क्रममा आज दुधेको तरुवामा आएको बताए।

उनले प्राकृतिक प्रकोपको‌ कारणले प्रभावित भएका चियाबारी क्षेत्र र नदीको किरणमा रहेकाहरुलाई सुरक्षित स्थानमा सारिनु पर्ने र पुनर्वास मुख्य रहेको बताए। समन पाठकले पुनर्वासको लागि सरकार अघि आउनुपर्छ भन्दै यस आपदाको समयमा सबैजनाले मिलेर काम गर्नु पर्ने र कसैले पनि राजनीति‌ नगरेर मिलेर काम गर्नु पर्ने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande