पाकिम,16 अक्टबर (हि.स.)। भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री निमुबेन जयन्तीभाई बम्भानियाले विभिन्न केन्द्रिय तथा राज्य योजनाहरू अन्तर्गत विकास परियोजनाहरू र कल्याणकारी पहलहरूको निरीक्षण र समीक्षा गर्न आज पाकिम जिल्लाको भ्रमण गरिन्। उनी चार दिवसीय सिक्किम भ्रमणमा बुधवार राति गान्तोक आइपुगेकी हुन्।
केन्द्रिय राज्यमन्त्रीलाई सरमसा गार्डनमा पाकिमका जिल्लापाल रोहन अगवाने, एसडीसी साङ्गे ग्याछो भोटिया, एसडीएम डीएम सुब्बा, एसडीपीओ विकास राई, एनएचआईडीसीएल र भूमि राजस्व तथा आपदा प्रबन्धन विभागका अधिकारीहरूले स्वागत गरेका थिए।
केन्द्रिय राज्यमन्त्री बम्भानियाले आफ्नो भ्रमणको शुरुवात एनएचआईडीसीएलद्वारा एनएच 717ए (रानीपूलदेखि पाकिम) मा निर्माणाधीन सडक परियोजनाको निरीक्षणबाट गरिन्। निरीक्षणको क्रममा उनले कामलाई तीव्रता दिन तथा गुणस्तर र सुरक्षा दुवै मापदण्ड कायम राख्दै परियोजनाको समयमै सम्पन्नता सुनिश्चित गर्न जोड दिइन्।
यसैगरी, उनले पाचे सामसिङस्थित सरकारी प्राथमिक विद्यालयको भ्रमण गरिन्, जहाँ उनले विद्यार्थीहरू र कर्मचारीहरूसँग अन्तरक्रिया गरिन्। पाकिमका मुख्य शिक्षा अधिकारी र प्रधानाध्यापकले उनलाई संस्थाको शैक्षिक सुविधाहरू र पूर्वाधार आवश्यकताहरूको बारेमा जानकारी गराए।
केन्द्रिय राज्यमन्त्रीले शिक्षा विभागलाई 'प्रवेश उत्सव' लाई नियमित अभ्यासको रूपमा संस्थागत गर्न सल्लाह दिॅंदै यसले बालबालिकाहरूलाई उनीहरूको शैक्षिक यात्राको शुरुवातदेखि नै सकारात्मक र समावेशी सिकाइ वातावरणलाई बढावा दिनेछ भनिन्। यसपछि, उनले जिल्ला पञ्चायतका अधिकारीहरूका साथ नामपे खोलादेखि तल्लो सामसिङसम्म ग्रामीण पानी आपूर्ति योजनाको समीक्षा गरिन्। उनले 'हर घर जल' र सुरक्षित पिउने पानीमा समान पहुँच सुनिश्चित गर्न जोड दिॅंदै स्थानीय जनता र लाभार्थीहरूसँग अन्तरक्रिया गरिन्।
यसपछि, केन्द्रिय राज्यमन्त्रीले पाकिमस्थित आईसीडीएस केन्द्रको भ्रमण गरिन् तथा पोषण र बाल कल्याण सेवाहरूको बारेमा जानकारी लिइन्। उनले नाम्चेबुङ ब्लकमा प्रधानमन्त्री कृषि सिंचाई योजना अन्तर्गत प्रगतिको पनि मूल्याङ्कन गरिन् र स्थानीय किसानहरूसँग अन्तरक्रिया गरिन्। यसै क्रममा उनले पाकिम प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गरिन्, जहाँ मुख्य चिकित्सा अधिकारीले ग्रामीण पहुँचमा चलिरहेका स्वास्थ्य सेवा पहलहरू र चुनौतीहरूमाथि प्रकाश पारे।
पछि, उनले पाचेमा हथकरघा प्रशिक्षण केन्द्रको भ्रमण गरिन् र स्थानीय कारीगरहरूद्वारा परम्परागत शिल्पलाई बढावा दिने प्रयासहरूको प्रशंसा गरिन्। आफ्नो भ्रमण अवधि उनले आरडीएफएस पावर योजनाको पनि समीक्षा गरेकी थिइन्।
हिन्दुस्थान समाचार / बिशाल