गान्तोक, 21 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीकी प्रवक्ता योजना खालिङ विरुद्ध सामाजिक सञ्जालमा फेक आईडीको माध्यमद्वारा अत्यन्तै निकृष्ट, असभ्य र समाजमा अपच्य हुने अमर्यादित र अश्लिल शब्दहरू प्रयोग गरेर टिप्पणी गरिएकोमा एसडीएफ पार्टीले कठोर शब्दमा भत्सर्ना जनाएको छ।
एसडीएफ चेली मोर्चा संयोजिका, दक्षिण जिल्ला अमृता दियालीद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, सत्तारुढ एसकेएम पार्टीको पक्षमा लेखिरहने 'एक मुटुको धड्कन' नामक आईडीबाट एसडीएफ प्रवक्ता योजना खालिङमाथि अत्यन्तै निकृष्ट, असभ्य र समाजमा अपच्य हुने अमर्यादित र अश्लिल शब्दहरूले टिप्प्णी गरेको सामाजिक सञ्जालमा भाइरल भएको छ। यो हमला युवा नेतृ योजना खालिङमाथिको मात्र हमला नभएर सम्पूर्ण नारी सम्मानमाथिको हमला हो।
एसडीएफले यस कार्यको कठोर शब्दमा भत्सर्ना जनाउॅंदै सरकार र पुलिस प्रशासनलाई उक्त व्यक्ति विरुद्ध कठोर सजायको माग गरेको छ। यसैगरी, एसडीएफले ती अश्लिल टिप्पणीहरूलाई सामाजिक सञ्जालमा भाइरल नगरिदिन निवेदन पनि गरेको छ। अर्कोतिर, एसडीएफले एसकेएम सरकारको फितलो कानुन व्यवस्थाका कारण आज यस्ता असामाजिक र बदमासी गर्ने हुल अथवा झुण्डहरुको सिक्किममा विकास भएको आरोप पनि लगाएको छ।
हिन्दुस्थान समाचार / बिशाल