खरसाङको‌ सिटोङ दुई मामरिङ क्षेत्रको जीर्णावस्थामा रहेको सडकलाई लिएर सामुहिक सभा सम्पन्न
खरसाङको‌ सिटोङ दुई मामरिङ क्षेत्रको जीर्णावस्थामा रहेको सडकलाई लिएर सामुहिक सभा सम्पन्न


खरसाङ, 21 अक्टोबर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर मामरिङ सार्वजनिक मैदानमा गाउँ वरिपरिका सम्पूर्ण संघ संस्थाहरु लगायत राजनीतिक दलका प्रतिनिधिहरुलाई लिएर एक महत्त्वपूर्ण सभा अप्पर मामरिङ बुनिँयादी पाठशालाका पूर्व प्रधान अध्यापक दिलकुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। गाउँका सचेत नागरिकहरुद्वारा डाकिएको उक्त सभा वर्षौंदेखि जीर्ण अवस्थामा रहेको मूल सडक विषयमाथि छलफल गरियो।

अप्पर मामरिङ मानेडाँडादेखि लोवर मामरिङ उच्चतर माध्यमिक विद्यालयसम्मको सडक खोलाको बगर जत्तिकै हुँदा पनि वर्तमान सत्ता पक्षद्वारा केवल ढाँट्ने र आश्वासन दिने मात्र काम भएको हुँदा ग्रामबासीहरु निराश अनि रुष्ट बनेका छन् र अब भावी रणनीति तय गर्न उक्त सभा डाकिएको जानकारी वसन्त राईले प्रेस विज्ञप्तिमा दिएका छन्।

सभामा वसन्त राईले धेरै वर्षदेखि यस सडक मरम्मतिबारे जीटीए कार्यपाल लगायत प्रशासनका सबै पक्षलाई गुहार लगाए तापनि आजसम्म केही हुन नसकेको बताए। उनले गाउँमा सडक मात्र नभई अन्य विकासहरु पनि आजसम्म केही नभएको तथा एउटा कम्युनिटी भवन समेत नबनिएको बताए।

वक्तव्यको क्रममा भागोप्रमो अप्पर मामरिङ बुथका सचिव हेमन्त गुरुङले पनि आफू सत्तासीन पार्टीकै कार्यकर्ता भए तापनि यो पार्टीले जनगुनासोलाई साथ नदिएको आरोप लगाए। पार्टी पक्षबाट जीर्णावस्थामा रहेको सडक सम्बन्धि कुनै पनि ठोस पहल नभएको अनि अब यस समस्याबाट मुक्तिका लागि गाउँको आवाजलाई नै साथ दिने वाचा गरे।

यसैगरी सामाजिक विकास मञ्च लोवर मामरिङको तर्फबाट प्रतिनिधित्व गर्दै सचिव रमेश खवास र कार्यकारिणी सदस्य बिकास खवासले पनि आ-आफ्नो वक्तव्यको क्रममा यो ठाउँमा साँच्चै कुनै पनि ठोस विकासमूलक कार्यहरु नभएको दाबी गरे। अप्पर मामरिङ चालक संगठनका सभापति संजीव छेत्रीले पनि यो मुद्दा केवल चालकवर्गको निम्ति मात्र नरहेर अप्पर, मिडल र लोवर मामरिङकै जनताको निम्ति नै घोर समस्या हो भनी बताए। अब यस विषयलाई अझ उजागर गर्न सिटोङ दुई दिनव्यापी पोस्टरिङ गरिने अनि माइकिङ गरेर सम्पूर्ण जनसाधारणलाई नै यो विषयमा अघि आउन अनि नो रोड नो भोट को अडानलाई समर्थन गर्न आह्वान गर्ने बताए।

सभापति दिलकुमार छेत्रीले विगत घिसिङको पालोमा पनि एकपल्ट भोट बहिष्कार गरेर मात्र यस क्षेत्रमा विकासको पदार्पण भएको थियो र अब पनि सायद यति गरेर चैं केही हुन्छ भने आफूले पनि यस विषयलाई पूर्ण समर्थन जनाए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande