
क्वेटा, २८ अक्टोवर (हि.स.)। पाकिस्तानको बलोचिस्तानमा स्वतन्त्रता आन्दोलनमा सक्रिय युनाइटेड बलोच आर्मी (युबीए) ले जिल्ला काचीको भागनाडी शहरमा पूर्ण नियन्त्रण जमाएको र सेना तथा पुलिसलाई भाग्न बाध्य पारेको जनाएको छ। यस क्रममा भएको तीव्र गोलीबारीमा एक पुलिस थाना प्रभारीसहित जम्मा छ जना अधिकारी मारिएका छन्।
पश्तो भाषामा प्रकाशित हुने द बलोचिस्तान पोस्टका अनुसार, यो घोषणा युबीएका प्रवक्ता मजार बलोचले सञ्चारमाध्यमलाई जारी गरेको वक्तव्यमा गरेका हुन्। उनले भने, युबीएको कमाण्डरहरूले २७ अक्टोबर साँझ करिब ४:३० बजे जिल्ला काचीको तहसीलमा भागनाडी शहरका प्रवेशद्वारहरू अवरुद्ध गरी आक्रमण सुरु गरेका थिए।
युबीएका प्रवक्ता मजार बलोचले दाबी गरेका छन्, प्रवेशद्वारहरू अवरुद्ध गरेपछि कमाण्डरहरू र लडाकूहरूको ठूलो संख्या शहरभित्र पसेको थियो। यस क्रममा पुलिस चौकी, एनएडीआरए कार्यालय, लेवी पुलिस चौकी, तहसीलदार कार्यालय र नेशनल ब्याङ्कविरुद्ध सामूहिक कारवाही गरियो। उनले भने, थानालाई घेराबन्दी गर्दा पुलिसलाई हतियार छोड्ने चेताउनी दिइएको थियो, तथापि पुलिसले आक्रमण जारी राखे। त्यसपछि हाम्रो आर्मीका लडाकूहरूले आत्मरक्षाका रूपमा जवाफी कार्यवाही गरे र झडप भयो। झडपमा थानाध्यक्ष लुत्फ अलीसहित तीन जनाले ज्यान गुमाएका र तीन घाइते भएका छन्।
प्रवक्ताले बताएअनुसार, लडाकूहरूले लेवी चौकी घेराबन्दी गरी त्यहाँ रहेका ११ कैदीलाई मुक्त गराएका थिए। यसै क्रममा लेवीका कर्मचारीहरूको सरकारी हतियार कब्जा गरिएको थियो। चौकीको भवनमा आगो लगाइयो र त्यसपछि नेशनल ब्याङ्क तथा तहसीलदार कार्यालयमा आगो लगाइएको उनले जानकारी दिएका छन्। केही घण्टापछि फ्रन्टियर कोर (एफसी) को टोली शहरमा पुग्यो र त्यसपछि लडाकूहरू र एफसीबीच करिब एक घण्टा लामो तीव्र लडाइँ भयो। यसमा एफसीका तीन जवानहरू मारिए र धेरै घाइते भएका छन्।
प्रवक्ताले भने, संघर्षका क्रममा अन्तिम रक्षात्मक पङ्क्तिमा रहेका संगत साहिब खान बंगालजई उर्फ शौकतले आफ्नो ज्यानको परवाह नगरी पाकिस्तानी सेनाका आक्रमणहरू विफल बनाए र आफ्नो प्राण त्यागेर बाँकी साथीहरूलाई सुरक्षित बाहिर निस्कन मार्ग प्रशस्त गराए। प्रवक्ताले संगठनले शहीद साहिब खान बंगालजईको पराक्रम सधैं सम्झने बताए। उनले भने, जबसम्म हामी स्वतन्त्र बलोचिस्तान हासिल गर्दैनौं, यस्ता आक्रमणहरू जारी रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी