नयाँ दिल्ली, ३ अक्टोबर (हि.स.)।
ब्राजिलकी एण्टोनिया कायला दा सिल्भा बारोसले विश्व प्यारा एथलेटिक्स च्याम्पियनशिप २०२५ को महिलाको १५०० मिटर टी२० स्पर्धामा स्वर्ण जित्दै नयाँ विश्व कीर्तिमान (४ मिनेट १९.२२ सेकेन्ड) बनाइन्। उनले पोल्याण्डकी चर्चित एथलीट तथा छ पटककी विश्व च्याम्पियन बार्बरा बिएगानोभ्स्का-जजाकलाई पछि पारिन्।
बारोसको यो जीत अझ विशेष रह्यो किनभने उनले अन्तिम ल्यापअघि नै अग्रता बनाएकी थिइन्। टोक्यो २०२० प्यारा ओलम्पिकमा आफ्नी ब्राजिलेली सहकर्मी एडनेउसा डी जिसस सान्टोस डोर्टाकी गाइड रनर रहेकी बारोसले यस उपलब्धिसँगै आफ्नो करियरमा नयाँ उचाइ हासिल गरिन्।
ब्राजिलकी अर्की खेलाडी वाना ब्रिटो ओलिभेराले महिलाको शटपुट एफ३२ स्पर्धामा समेत विश्व कीर्तिमानसहित स्वर्ण जितिन्। यी सफलतासँगै ब्राजिलले १२ स्वर्ण, १६ रजत र ७ कांस्य जितेर पदक तालिकामा आफ्नो दबदबा कायम राखेको छ। चीन (८–१०–९) अब बाँकी तीन दिनमा कडा चुनौतीको सामना गर्दैछ।
व्यक्तिगत प्रदर्शनतर्फ स्विजरल्याण्डकी क्याथरिन डेब्रुनरले महिलाको १०० मिटर टी५३ स्पर्धामा च्याम्पियनसिप कीर्तिमानसहित आफ्नो चौथो स्वर्ण जितिन्। उनले १०० मिटरदेखि ५००० मिटरका सबै इभेन्टमा विजय हासिल गरेकी छन्।
भारततर्फ पेरिस २०२४ प्यारा ओलम्पिक च्याम्पियन धरमबीर नैण (३६ वर्ष) र अतुल कौशिक (२९ वर्ष) ले क्रमशः रजत र कांस्य पदक जिते। तर लगातार दोस्रो दिन स्वर्ण पदक नजित्दा आयोजक भारत चौथो स्थानबाट झर्दै सातौं स्थानमा पुगेको छ। हाल भारतसँग ४ स्वर्ण, ५ रजत र २ कांस्य पदक छन्।
कोलम्बियाकी करेन टी पालोमेके एमले महिलाको २०० मिटर टी३८ स्पर्धामा स्वर्ण जित्दै आफ्नो टोलीलाई छैटौं स्थानमा पुर्याइन्। इटली र स्विजरल्याण्डले पनि विहीबार आफ्ना-आफ्ना पाँचौं स्वर्ण जिते।
धरमबीर नैणले अन्तिम प्रयासमा २९.७१ मिटरको उत्कृष्ट थ्रो गर्दै अग्रता बनाएका थिए, तर सर्बियाका अलेक्जान्दर रेडिसिकले ३०.३६ मिटर फ्याँक्दै स्वर्ण छिनेर लगे। पेरिस २०२४ का रजत विजेता प्रणव सूरमा भने नौ खेलाडी सहभागी स्पर्धामा पाँचौं स्थानमा सीमित भए।
पानीका कारण पुरुषहरूको लाङजम्प टी६४ र शटपुट एफ४६ फाइनल स्थगित भए। यद्यपि आयोजकहरूले प्रयास गर्दै डिस्कस थ्रो टी५७ र क्लब थ्रो एफ५१ फाइनल पुनः सुरु गरेर सम्पन्न गराए।
हिन्दुस्थान समाचार / भवानी थामी