
सियोल (दक्षिण कोरिया), ३० अक्टोबर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको राजकीय भ्रमणका क्रममा आतिथ्य देशका लागि ठूलो घोषणा गरेका छन्। उनले बिहिबार बिहान आफ्नै ‘सोसल ट्रुथ’ प्लेटफर्ममा लेखे, “दक्षिण कोरियालाई अब परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन अनुमति दिइएको छ। यो पनडुब्बीको निर्माण फिलाडेल्फियास्थित अमेरिकी शिपयार्डमा हुनेछ।”
द कोरिया हेराल्डको रिपोर्ट अनुसार, ट्रम्पले यसो पनि भने, “हाम्रो देश (अमेरिका) चाँडै ठूलो स्तरमा जहाज निर्माण सुरु गर्नेछ।” अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार, दक्षिण कोरियालाई अत्याधुनिक पनडुब्बी निर्माण गर्ने अनुमति दिइएको हो। यो घोषणा उनले दक्षिण कोरियाले ३५० अर्ब डलरको लगानीको वाचा गरेपछि गरेका हुन्।
राष्ट्रपति ली जे म्युङले बुधबार ट्रम्पसँग लन्चको क्रममा भएको शिखर वार्तामा, दक्षिण कोरियाका पनडुब्बीहरूलाई ऊर्जा आपूर्ति गर्न परमाणु इन्धन पुनःप्रसंस्करणको लागि अमेरिकी सहमति मागेका थिए।
राष्ट्रपतिको कार्यालयले बुधबार साँझ व्यापार सम्झौतासम्बन्धी वक्तव्य जारी गर्दै जनाएको छ, ट्रम्पले दुवै देशबीच संयुक्त परामर्शको सुझाउ दिएका छन् र दक्षिण कोरियाको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी विकासको आवश्यकतालाई स्वीकार गरेका छन्।
उल्लेखनीय छ, राष्ट्रपति ट्रम्प हाल एपेक शिखर सम्मेलनमा सहभागी हुनका लागि ग्योंग्जू (उत्तरी ग्योंगसाङ) पुगेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी