नशामुक्त समाज निर्माण र खेल संस्कृतिलाई प्रोत्साहित गर्न खेलकुदको भूमिका महत्वपूर्ण: मन्त्री भोजराज राई
नशामुक्त समाज निर्माण र खेल संस्कृतिलाई प्रोत्साहित गर्न खेलकुदको भूमिका महत्वपूर्ण: मन्त्री भोजराज राई


नाम्ची, 30 अक्टोबर (हि.स.)। नाम्ची पब्लिक स्कूलको बास्केटबल कोर्टमा आजदेखि 'पहिलो नाम्ची खुल्ला बास्केटबल टुर्नामेन्ट 2025' शुरू भएको छ। चार दिनसम्म चल्ने यस टुर्नामेन्टको उद्देश्य खेलकुदलाई प्रवर्द्धन गर्ने र लागूपदार्थको लतमुक्त समाजलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ। यस टुर्नामेन्टको आयोजना नाम्ची जिल्ला पुलिसले येतिस बास्केटबल क्लब र नाम्ची जिल्ला प्रशासनिक केन्द्रको सहयोगमा गरिरहेको छ।

उद्घाटन समारोहमा आज शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथि थिए। यसैगरी, विधायक सतिशचन्द्र राई, एनएमसीका चेयरपर्सन गणेश राई, पञ्चायति राज सल्लाहकार रामा तामाङ, सिम्फेडका चेयरपर्सन तेन्जिङ दोर्जी भोटिया, जिल्लापाल अनुपा तामलिङ, एसएसपी कर्म ग्याम्छो भोटिया आदि उपस्थित थिए।

मुख्य अतिथि मन्त्री राईले टुर्नामेन्ट शुरू भएको घोषणा गरे। उनले आफ्नो सम्बोधनमा टुर्नामेन्ट आयोजक संस्थाहरूको प्रयासको सराहना गर्दै नशामुक्त समाज निर्माण र खेल संस्कृतिलाई प्रोत्साहित गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवाहरूको चरित्र र अनुशासनलाई आकार गर्न खेलकुदको महत्वमाथि प्रकाश पार्दै युवाहरूलाई यस्ता सकारात्मक पहलहरूमा सक्रिय रूपमा सहभागी बन्न प्रोत्साहित गरे।

मन्त्री राईले युवा प्रतिभाहरूको पोषण र राज्यको नाम उज्जवल बनाउन समाजको हरेक वर्गको सामूहिक प्रयासको आवश्यकतामाथि बल दिए। उनले नशामुक्त पहलमा जिल्ला पुलिसको सक्रिय संलग्नताप्रति खुशी प्रकट गर्दै स्वस्थ्य एवं नशामुक्त समाज कायम राख्न सबैलाई योगदान दिन आह्वान पनि गरे।

यस टुर्नामेन्टमा कूल 20 दलले भाग लिइरहेका छन्, जसमा 12 पुरुष र 8 महिला दल सामेल छन्। उद्घाटन समारोहमा आज पुरुष वर्ग अन्तर्गत टिम रेभन्स र टिम हाउन्ड्सबीच भिडन्त भयो, जसमा टिम रेभन्स विजयी बन्यो। यसरी नै महिला वर्गमा गर्ल्स अफ् गाङग्याप र स्ट्राइभर्सबीच भिडन्त भएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande