सरदार पटेलको 150 औं जन्म जयन्ती: गान्तोकमा एकता पदयात्रा
सरदार पटेलको 150 औं जन्म जयन्ती: गान्तोकमा एकता पदयात्रा


राष्ट्रिय एकता दिवस उत्सवको निम्ति 31 अक्टोबरको दिन गान्तोकमा एकता पदयात्रा आयोजित गरिने

गान्तोक, 30 अक्टोबर (हि.स.)। सरदार वल्लभभाई पटेलको 150औं जन्म जयन्तीको अवसरमा राष्ट्रव्यापी राष्ट्रिय एकता दिवस 2025 उत्सव अन्तर्गत 31 अक्टोबरको दिन गान्तोकमा एकता पदयात्रा आयोजित गरिनेछ। भारत सरकारको युवा मामिला एवं खेलकूद मन्त्रालयको माई भारत, एनएसएस, एनसीसी र सिक्किम सरकारको खेलकूद एवं युवा मामिला विभागको संयुक्त पहलमा यो कार्यक्रम आयोजित गरिँदैछ। उक्त जानकारी आज पीआईबीले दिएको छ।

जिल्लापाल, गान्तोकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले यस एकता पदयात्राबारे जानकारी दिए। अतिरिक्त जिल्लापाल सिसुम डब्लु भोटियाले भारतका लौह पुरुष वल्लभभाई पटेलको जन्म जयन्ती पालन गर्न एकता पद यात्रा आयोजित गरिने भएको अवगत गराए। प्रतिभागीहरूमा स्कूल अनि कलेजका विद्यार्थी, एनएसएस अनि एसीसीका सदस्यगण, युवा, जनप्रतिनिधि, प्रेरक युवाहरू, खेलाडी तथा सरकारी अधिकारीहरू सामेल रहनेछन्।

युवाहरूमा एकता, राष्ट्रभक्ति अनि नागरिक दायित्त्वको भावना प्रोत्साहित गर्नका साथै उनीहरूलाई सरदार पटेलका आदर्शहरू अङ्गीकार गर्न र विकसित भारत@2047 को निम्ति काम गर्न प्रेरित गर्न एकता पदयात्रा आयोजित गरिने भएको पनि उनले बताए। गान्तोक जिल्लाका सबै नागरिकलाई यस उत्सवमा गर्व अनि जोशका साथ भाग लिन पनि भोटियाले आग्रह गरे।

भारत सरकारको खेलकूद एवं युवा मामिला मन्त्रालय अन्तर्गत माई भारतका उपनिर्देशक मङ्गल जाखडले भोलिदेखि गान्तोकमा शुरु हुँदै राज्यको सबै 6 वटा जिल्लामा एकता यात्रा आयोजित गरिने अवगत गराए। पदयात्रा रिज पार्क (वाइट हल) बाट बिहान 6 बजे शुरु भई पाल्जर स्टेडियममा समापन हुनेछ। पद यात्रालाई राज्यका मन्त्री राजु बस्नेतले झण्डा देखाएर प्रस्थान गराउनेछन्।

युवाहरूलाई प्रोत्साहित गर्नका साथै भारतका लागि सरदार पटेलद्वारा परिकल्पना गरिए अनुरूप एकता अनि एकजुटताको भावनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश अनि दूरदृष्टि प्रसारित गर्न प्रेरक युवा नसीब तामाङले पनि यस पद यात्रामा भाग लिने उनले जानकारी दिए।

पदयात्राको निम्ति माई भारतको पोर्टलमा लगइन गरेर वा सशरीर पदयात्रामा उपस्थित भई सक्रिय रूपमा यस पद यात्रामा भाग लिन मङ्गल जाखडले स्थानीय जनमानसलाई आग्रह गरेका छन्।

यस अवसरमा सिक्किम सरकारको आइपीआर विभागका डीआइओ दीपेन्द्र शर्मा अनि एनएसएस जिल्ला समन्वयक केसाङअङ्मू भोटिया पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande