अमेरिकाको गाजा शान्ति प्रस्तावमा हमास सहमत, ट्रम्पले इजरायललाई गाजामा कारबाही तत्काल रोक्न निर्देशन दिए
अमेरिकाको गाजा शान्ति प्रस्तावमा हमास सहमत, ट्रम्पले इजरायललाई गाजामा कारबाही तत्काल रोक्न निर्देशन दिए


वाशिङटन, ४ अक्टोबर (हि.स.)। अमेरिकाको गाजा शान्ति प्रस्तावमा फिलिस्तीनी सशस्त्र संगठन हमास सहमत भएको छ। हमासले शान्ति प्रस्ताव अन्तर्गत जीवित वा मृत सबै इजरायली बन्धकहरूलाई मुक्त गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई शान्ति प्रस्ताव स्वीकार गर्न समयसीमा दिएलगत्तै हमासले उक्त घोषणा गरेको हो। त्यसपछि ट्रम्पले इजरायललाई गाजामा तत्काल बमबारी रोक्न आदेश दिएका छन्।

हमासले तत्काल मध्यस्थता वार्तामा सहभागी हुन तयार भएको संकेत गरेको छ। यसबारे ट्रम्पले सन्तोष व्यक्त गर्दै ट्रुथ सोसियलमा लेखेका छन्, “हमासको ताजा विज्ञप्तिका आधारमा मेरो विश्वास छ कि उनीहरू स्थायी शान्ति चाहन्छन्।” ट्रम्पले गाजामा इजरायलको बमबारी रोक्नु जरुरी भएको बताउँदै यसबाट छिटोभन्दा छिटो बन्धकहरूलाई सुरक्षित निकाल्न सकिने धारणा व्यक्त गरेका छन्।

शान्ति वार्तामा सहभागी हुन तयारः हमास

हमासले ट्रम्पको गाजा प्लानबारे विस्तृत छलफल गर्न मध्यस्थहरूको माध्यमबाट तत्काल वार्तामा बस्न तयार रहेको जनाएको छ। साथै उसले गाजाको प्रशासन स्वतन्त्र प्राविधिक विज्ञहरूको फिलिस्तीनी संस्थालाई सुम्पिन तयार रहेको दोहोर्‍याएको छ। अहिलेसम्म गाजाको प्रशासन हमासकै हातमा थियो। द टाइम्स अफ इजरायल का अनुसार, योजनाअन्तर्गत बाँकी रहेका ४८ जना इजरायली बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिनेछ। यसको सट्टामा २,००० भन्दा बढी फिलिस्तीनी कैदी तथा मृत गाजावासीहरूको शवहरू फिर्ता दिइनेछ। त्यसपछि इजरायलले गाजाबाट आफ्नो फिर्तीको पहिलो चरण पूरा गर्नेछ।

ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई आइतवार बेलुकी ६ बजेसम्म इजरायलसँग शान्ति सम्झौतामा पुग्ने अल्टिमेटम दिएका थिए। उनले भनेका थिए, हमासलाई गाजा प्लान स्वीकार गरी इजरायली बन्धकहरूलाई मुक्त गर्ने अन्तिम मौका दिइएको हो, यदि यसमा सहमति नजनाए त्यसको परिणाम निकै गम्भीर हुनेछ।

हालै अमेरिकाको भ्रमणमा गएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र ट्रम्पबीच शान्ति योजनाबारे सहमति बनेको थियो। ३० सेप्टेम्बरमा मिस्र, जोर्डन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, टर्की, इन्डोनेशिया र पाकिस्तानले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको गाजा शान्ति प्रस्तावलाई समर्थन गरेका थिए।

अमेरिकी गाजा शान्ति योजनाअनुसार हमासले तुरुन्तै ४८ इजरायली बन्धकहरूलाई मुक्त गर्नुपर्नेछ, जसमा करिब २० जना जीवित रहेको अनुमान गरिएको छ। साथै उसले सत्ता र हतियार त्याग्नुपर्नेछ। इजरायलले गाजामा कारबाही रोक्दै अधिकांश क्षेत्रमा सेनालाई फिर्ता बोलाउनेछ, सयौँ फिलिस्तीनी कैदीलाई मुक्त गर्नेछ र मानवीय सहयोग तथा पुनर्निर्माणको अनुमति दिनेछ। गाजाका करिब २० लाख फिलिस्तीनीका लागि अन्तरराष्ट्रिय प्रशासन लागू गरिनेछ।

सन् २०२३ अक्टोबरमा इजरायलमाथि हमासको आतङ्ककारी आक्रमणपछि इजरायलले गाजामा सुरू गरेको सैन्य कारबाहीले सम्पूर्ण मध्यपूर्वमा असर पारेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande