गान्तोक, 4 अक्टूबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका दोस्रो मुख्यमन्त्री स्वर्गीय नर बहादुर भण्डारीको जन्मदिनको अवसरमा सिक्किम सरकार र सम्पूर्ण सिक्किमेली जनसमुदाय साथै आफ्नो परिवार र व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, पश्चिम सिक्किमको मालबाँसे, सोरेङमा जन्मनु भएका आदरणीय भण्डारीज्यूले आफ्नो जीवन शिक्षण पेशाबाट प्रारम्भ गरी पछि पूर्ण रूपमा जनसेवामा समर्पित गर्नुभयो। सन् १९७९ मा पहिलो पटक सिक्किमका मुख्यमन्त्री निर्वाचित भई लगातार १४ वर्षसम्म राज्यको बागडोर सम्हाल्दै उहाँले सिक्किमलाई राजनीतिक स्थिरताको आधारमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र ग्रामीण विकासमा उल्लेखनीय उपलब्धिहरू दिलाउनुभयो।
मुख्यमन्त्रीले भने, उहाँको सर्वाधिक ऐतिहासिक योगदान भनेको नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गराउनु हो, जसले सम्पूर्ण भारतीय नेपाली भाषाभाषी समुदायलाई गौरवान्वित तुल्याएको छ। साथै, किसान, मजदुर, शिक्षक, कर्मचारी तथा वञ्चित वर्गका अधिकार सुनिश्चित गर्दै उहाँले समाजमा समानता र न्यायको जग बसाल्नुभयो। भण्डारीज्यू केवल सिक्किमकै नभई सम्पूर्ण भारतीय नेपाली समाजका गौरवका प्रतिमूर्ति हुनुहुन्थ्यो। उहाँको आदर्श, दृढ संकल्प र जनसेवाप्रतिको निष्ठा हाम्रो लागि प्रेरणाको शाश्वत स्रोत बनेर रहनेछ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, सरकार गठनपश्चात् हाम्रो पार्टीले उहाँको अद्वितीय योगदानलाई सम्मान गर्न प्रत्येक वर्ष ५ अक्टोबरलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरी उहाँको जन्मदिवसलाई धूमधामका साथ मनाउने परम्परा स्थापित गरेको छ। आधुनिक सिक्किमका निर्माता, नेपाली भाषा आन्दोलनका मुख्य नायक तथा लोकप्रिय जननेता स्वर्गीय भण्डारीज्यूप्रति यो सम्मान हाम्रो तर्फबाट अर्पित अमूल्य श्रद्धाञ्जली हो।
मुख्यमन्त्रीले आफू केवल ११ वर्षको हुँदा भण्डारीलाई मुख्यमन्त्रीको रुपमा देखेको र उनलाई आफ्नो आदर्श मानेर, मार्गदर्शक मानेर, उनले देखाएको मार्गको अनुसरण गरिरहेको उल्लेख गरेका छन्। उनले भने, उहाँले जनहितको निम्ति सोचेका कुराहरू एकएक पूर्ण गर्ने प्रयास हामी गर्दैछौं। म मरे पनि मेरो जन्मभूमि सिक्किम बाँचिरहोस भन्ने उहाँको प्रेरणादायी वाणी हाम्रो हृदय स्पन्दनमा सधैं गुन्जिरहेको हुन्छ। उनले सबैलाई भण्डारीको योगदानलाई स्मरण गर्दै सिक्किमलाई अझ सबल, समृद्ध र प्रगतिशील बनाउन उनका आदर्शलाई आत्मसात गर्ने प्रतिज्ञा गरौँ भनी आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल