रङ्गीत पावर स्टेशनमा पहिलो पटक आयोजित भयो “रङ्गीत राजभाषा महापर्व”
रङ्गीत पावर स्टेशनमा पहिलो पटक आयोजित भयो “रङ्गीत राजभाषा महापर्व”


भारतका विभिन्न भागबाट आएका कविहरूले छरे कविताको जादूमय रङ्ग

गान्तोक, 04 अक्टोबर (हि.स.)। नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन लिमिटेड (एनएचपीसी) को इतिहासमा पहिलो पटक सिक्किमस्थित रङ्गीत पावर स्टेशनमा “रङ्गीत राजभाषा महापर्व” को सफल आयोजन गरिएको छ। यस अवसर न केवल रङ्गीत आयोजना तर सम्पूर्ण एनएचपीसी परिवारका लागि अभूतपूर्व र ऐतिहासिक रह्यो। यस आयोजनाले हिन्दीको प्रचार–प्रसार तथा साहित्य–संस्कृतिको संवर्द्धनतर्फ एक सबल पहललाई जन्म दिएको छ।

राजभाषा पखवाडाको अवसरमा गरिएको यस राजभाषा महापर्वले सिक्किमका लागि हिन्दी भाषाको इतिहासमा नयाँ इतिहास रचेको छ। महापर्वको सुरुवात विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्वलनसँगै भएको थियो। उद्घाटन सत्रमा सबै अतिथिहरूलाई सम्मानपूर्वक स्वागत गरिएको थियो। रङ्गीत पावर स्टेशनका हेड अफ प्रोजेक्ट श्रवण कुमार मिश्राले स्वागत मन्तव्य दिँदै हिन्दी भाषा केवल प्रशासनिक कार्यप्रणालीको आत्मा मात्र नभई सांस्कृतिक अस्मिताको वाहक भएको बताएका थिए। साथै उनले एनएचपीसीमा राजभाषा हिन्दीको सतत प्रोत्साहन र यसको बढ्दो प्रयोगप्रति प्रतिबद्धता दोहोऱ्याए।

महापर्वमा नेपाली साहित्यका वरिष्ठ हस्ती पद्मश्री केदार गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। ७८ वर्षीय प्रख्यात साहित्यकार गुरुङलाई उनको अद्वितीय र दीर्घकालीन साहित्यिक योगदानका लागि सम्मानित गरिएको क्षण महापर्वको सबैभन्दा भावनात्मक पल रह्यो।

यसै गरी हिन्दी भाषाको विकास र भविष्यका चुनौतीलाई गम्भीरतापूर्वक लिएर “डिजिटल युगमा हिन्दीका चुनौती र सम्भावना– तथा सिक्किमको भूमिका” विषयमा प्यानल डिस्कशन गरिएको थियो। यस परिचर्चामा श्रम विभाग, सिक्किम सरकारका सचिव भीम ठटाल; सिक्किम विश्वविद्यालयका सहायक प्राध्यापक डा. चूकी भुटिया; भाषा निर्देशनालय, सिक्किम सरकारका हिन्दी समन्वयक डा. छुकी लेप्चा; प्रख्यात कवि तथा पत्रकार प्रवीण खालिङ र रङ्गीत पावर स्टेशनका हेड अफ प्रोजेक्ट श्रवण कुमार मिश्राले विचार प्रस्तुत गरे। परिचर्चाको सञ्चालन कवयित्री तथा नृत्याङ्गना सरिका ‘सरल’ले गरिन्।

दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डीजीएम (सी) साकेत रञ्जन र प्राविधिक सहायक पंकज श्रीवास्तवले प्रस्तुत गरेको व्यङ्ग्यात्मक समाचार बुलेटिन “रङ्गीत न्युज” ले श्रोताहरूलाई निकै हसाएको थियो। त्यसैगरी महापर्वको विशेष आकर्षण हिन्दी कवि सम्मेलन रह्यो। देशका विभिन्न स्थानबाट आएका कविहरू र स्थानीय साहित्यकारहरू सरिका ‘सरल’, ओंकार कश्यप, फज़ीहत गहमरी, भीम ठटाल, डा. चूकी भुटिया र प्रवीण खालिङले उत्कृष्ट कविता वाचनद्वारा श्रोताहरूलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रमको अन्त्यमा प्रस्तुत गरिएका सांस्कृतिक प्रस्तुति पनि उल्लेखनीय भए। प्रशिक्षु अधिकृतहरूको ‘सर्किटब्रेकर्ज़ ब्वाइज’ टिमले प्रस्तुत गरेको हास्यनृत्य ‘लेजी डान्स’ तथा सरिका ‘सरल’को भक्तिमूलक शास्त्रीय नृत्य विशेष आकर्षण बने। यसैगरी राजभाषा पखवाडा अवधिभर आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरियो। कार्यक्रममा पद्मश्रीले सम्मानित व्यक्तित्व केदार गुरुङ, श्रम विभाग, सिक्किम सरकारका सचिव भीम ठटाल, विधायक लोकनाथ शर्मा, विधायक रिकशल दोर्जी भुटिया, कवि तथा पत्रकार प्रवीण खालिङ, शिक्षाविद् डा. चूकी भुटिया र डा. छुकी लेप्चा लगायत स्थानीय प्रशासन, प्रहरी विभाग, डिएभी विद्यालय, सामाजिक संगठन र साहित्यिक समुदायका गणमान्य व्यक्तिहरूको गरिमामय उपस्थिति रह्यो।

यस आयोजनाले कर्मचारी र स्थानीय बासिन्दाबीच हिन्दीप्रतिको चेतनालाई बलियो बनाएको छ साथै सामूहिक संकल्पद्वारा भाषा तथा संस्कृतिलाई जुनसुकै भूभागमा नयाँ उचाइमा पुर्यापउन सकिन्छ भन्ने सन्देश दिएको छ। “रङ्गीत राजभाषा महापर्व” ले स्पष्ट देखायो कि हिन्दी केवल सञ्चारको माध्यम मात्र होइन, बरु साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनालाई जोड्ने सेतु हो। यो आयोजनाले आगामी वर्षहरूमा एनएचपीसी र सिक्किम दुवैका लागि हिन्दी प्रचार–प्रसारको क्षेत्रमा प्रेरणादायी कोशे ढुङ्गाको भूमिका निर्वाह गर्ने निश्चित छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande