खरसाङ, 5 अक्टूबर (हि.स.)। रातभरि परेको पानीले महानदी-तीनधारे समष्टि अन्तर्गत घैयाबारीको लोवर गैरी गाउँ निवासी शोभा रसाइली अनि सञ्जीव रसाईलीको घरलाई पैह्रोले क्षति गरेको छ। प्राप्त जानकारी अनुसार, भारी वर्षाबीच आइतवार बिहान लगभग 5 बजीतिर घरको माथिबाट आएको पैह्रोले दुईवटै घरलाई क्षति पुर्याएको छ।
पैह्रोले दुईवटा घरको बाहिरी भागलाई क्षति गरेको छ भने घरको रेलिङ पैह्रोले ध्वस्त बनाएको छ। घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत समिति सदस्या कुसुम तामाङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्म, घैयाबारीको बुथ नम्बर 257 का सभापति नरेन राई र सचिव नवराज प्रधानको उपस्थितिमा पैह्रो सफा गर्ने कार्य गरिएको बताइएको छ। उक्त पैह्रोले क्षति गरेको दुईवटा घरमा पञ्चायतबाट र पञ्चायत समितिको तर्फबाट तारपोलिन प्रदान गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक