खरसाङको टेकवीर बस्ती क्षेत्रमा युवाहरुलाई लिएर काइट फेस्टिवल सम्पन्न
खरसाङको टेकवीर बस्ती क्षेत्रमा युवाहरुलाई लिएर काइट फेस्टिवल सम्पन्न


खरसाङ, 16 नोभेम्बर (हि.स.)। खरसाङको वार्ड नम्बर 2 मा रहेको टेकवीर बस्ती युथको आयोजनामा आइतवार काइट फेस्टिवल सम्पन्न भयो। यस अवसरमा बिहान प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङको टेकवीर बस्तीको प्रगति गाउँ प्रगति संघका सचिव बीरबल पाख्रीन, युथका सभापति प्रशान्त गुरुङ र प्रायोजकहरुका बाहुलीबाट विधिवत काइट फेस्टिवलको उद्घाटन गरिएको छ।

यस काइट फेस्टिवलको दोस्रो चरणमा गुड्डी उडाउने प्रतियोगिता सम्पन्न गरिएको थियो। यस प्रतियोगितामा जम्मा 21 जनाले सहभागिता जनाए। यस प्रतियोगिताको निर्णायकको रूपमा प्रशान्त गुरुङ उपस्थित थिए। प्रतियोगिता अन्तर्गत तीनवटा पुरस्कारहरु राखिएको थियो, जसमा कसले अधिक समयसम्म गुड्डी उडाउने, सर्वाधिक अरुको गुड्डी कसले काट्ने र आकाशमा सबैभन्दा माथिसम्म गुड्डी उडाउने वर्ग थिए।

यस अन्तर्गत अधिक समयसम्म गुड्डी उडाउनेमा सोयम तामाङले द लास्ट म्यान स्टान्डिङ्गको उपाधि पाए। त्यसरी नै सर्वाधिक अरुको गुड्डी काट्ने वर्गमा काइट वारियर्सको उपाधि उदय राईले पाए। आकाशमा सबैभन्दा माथिसम्म गुड्डी उडाउनेमा स्काई किङको उपाधि शुभम मंग्रातीले प्राप्त गरेका छन्। तीनैजनालाई प्रमुख अतिथिको बाहुलीबाट प्रमाण पत्र र ट्रफी प्रदान गरियो।

गाउँ समाजमा गुड्डी उडाउने प्रथा विलुप्त हुँदै गएकाले यसलाई पुनर्जीवित गर्ने र नानीहरु साथै युवाहरुलाई यसतर्फ आकर्षित गराउने उद्देश्यका साथमा यो काइट फेस्टिवल आयोजना गरिएको थियो। टेकवीर बस्तीको युउका सभापति प्रशान्त गुरुङले खरसाङको टेकवीर बस्ती क्षेत्रमा कसैले नसोचेको कुरालाई युवाहरुले सोचेर गुड्डी उडाउने प्रतियोगिता आयोजना गरेर नयाँ कार्य गरेको बताए।

उनले अहिले गाउँ ठाउँमा गुड्डी उडाउने खेल हराएर गएकाले उक्त प्रथालाई विलुप्त हुनदेखि जोगाउन साथै अहिलेका नानीहरु र युवाहरुमा पुनर्जीवित गराउन यो काइट फेस्टिवल आयोजना गरिएको बताए। उनले यस काइट फेस्टिवलमा सहभागिता जनाउने र सहयोग गर्ने सबै प्रायोजकहरुप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande