नो रोड, नो भोटको अडानमा बसेका खरसाङको लोवर बडा सिटोङ क्षेत्रमा सडक निर्माणको लागि शिलान्यास
नो रोड, नो भोटको अडानमा बसेका खरसाङको लोवर बडा सिटोङ क्षेत्रमा सडक निर्माणको लागि शिलान्यास


खरसाङ, 16 नोभेम्बर (हि.स.)। नो रोड, नो भोटको अडानमा बसेका खरसाङ महकुमा अन्तर्गत लोवर बडा सिटोङ क्षेत्रमा आज जीटीएको प्रमुख कार्यपाल अनित थापाले अलकत्रे सडक निर्माण कार्यको शिलान्यास गरेका‌ छन्। लोवर बढा सिटोङ भागवत ग्राउण्डमा नस्पति गाउँ दुर्गा मन्दिरदेखि लोवर बडा सिटोङ हुँदै स्कूल डाँडा सिटोङ एकसम्म जाने ५००.४१ लाख लागत राशीको ४.३० किमी सडक निर्माणको लागि शिलान्यास कार्यक्रम विकास थापाको अध्यक्षतामा सम्पन्न भयो।

यस अवसरमा जीटीए प्रमुख कार्यपाल लगायत सिटोङ तीन ग्राम पञ्चायत प्रधान रिना तामाङ, उप प्रधान लाडुप लेप्चा, सिटोङ लाटपञ्चार समष्टिको सभापति रतन गुरुङ, सचिव शेखर थापा, पञ्चायत समिति सदस्य एण्ड्युहाङ्ग सुब्बा साथै विभागीय अधिकारीवर्गको उपस्थिति रहेको थियोे। गाउँमा सडक बनिने भएपछि ग्रामवासीमा खुशीको लहर छाएको छ।

जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा भने, 'बाटो बनाइदिन्छु भन्ने वाचा दिएर धेरै भोट आयो अनि गयो। तर, बाटो बनाइएन। आज यहाँका मानिसको दीर्घकालीन माग पूरा हुनेछ। जुन गाउँले भोट नै हालेन, त्यही गाउँमा बाटो बनिॅंदैछ। नो रोड नो भोटको आन्दोलनले तपाईहरुले मतदाताको अधिकार पनि हराइदिनु भयो। भोट मलाई नै हाल्नु पर्छ भन्ने छैन, तर आफ्नो भोट दिने अधिकारदेखि वञ्चित हुनु हुँदैन।'

उनले अघि भने, 'चुनाउ आउँदैछ। जातिको कुरा आउँछ। बाटो भुलेर माटोको कुरा आउँछ। सबैले बाटो भुल्छ। भावनात्मक भएर गलत ठाउँमा भोट हाली पठाउँछ। म मेरो विचार मानिसमाझ राख्छु। यदि मानिसले मेरो काम मन पराए मलाई भोट दिन्छ नत्र दिँदैन। म मानिसलाई चम्काएर उक्साएर राजनीति गर्दिनँ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande