
- सिङ्गेल चियाबारीको जीर्णावस्थामा रहेको बाटो झट्टै निर्माण गरिने अनित थापाको घोषणा
खरसाङ, 17 नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले सिङ्गेल चियाबारीको नयाँधुरामा एउटा नवनिर्मित सार्वजनिक भवनको उद्घाटन गर्नुका साथै सिङ्गेल चियाबारीको सार्कीधुरा, चारधुरे, कफिबारी र बगैचाटारमा गरी जम्मा पाँचवटा नव निर्मित सार्वजनिक भवनको उद्घाटन गरेका छन्। यसको साथै उनले सिमानाधुरामा नयाँ सार्वजनिक भवनको निर्माणको लागि शिलान्यास पनि गरेका छन्।
जीटीए प्रमुख अनित थापाले सिङ्गेल चियाबारीको कफिबारी अन्तर्गत गोदामधुरामा पाँचवटा नवनिर्मित घरहरुको पनि उद्घाटन गरेका छन्। उक्त पाँचवटा घरहरु अग्नि पीडित परिवारहरुको नयाँ घर निर्माण गरिएको हो। सिङ्गेल चियाबारीको नयाँ धुरामा नवनिर्मित सार्वजनिक भवनको निर्माण राज्य फण्ड अन्तर्गत खरसाङ सिँचाई विभागबाट गरिएको छ। यस सार्वजनिक भवनको निर्माण कार्य 43 लाख 1 हजार 5 सय 94 रुपियाँमा गरिएको छ। उक्त सार्वजनिक भवनको उद्घाटन जीटीए प्रमुख अनित थापाको विशेष उपस्थितिमा टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पाले रिबन काटेर उदघाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले सिङ्गेल चियाबारीको जीर्णावस्थामा रहेको बाटो झट्टै बनाई दिने घोषणा गरे। उनले पहिला यहाँ कसैले आएर रोड बनाइदिने आश्वासन दिएकाले पर्खिरहेको, तर अहिलेसम्म नबनाइदिएपछि स्थानीयहरुको मागमा अब यो बाटोको निर्माण कार्य चांड़ै शुरु हुने घोषणा गरेका छन्। आफ्नोे सम्बोधनमा अनित थापाले भने, गाउँ विकासको लागि सबैजना एक हुन सक्नुपर्छ। म सिङ्गेलमा भोट माग्नु कहिले पनि आयिना। तर भोटको समयमा आएर बाटो बनाइदिन्छु भनेर वाचा गरेर पनि यहाँको बाटो बनिएन। मैले पनि अरु कसैले बनाई दिन्छ भनेर तपाईहरुले जस्तै पर्खिरहे। आज यहाँ आउँदा सबैले मलाई बाटो नै बनाई मागेको छ र अब यो बाटोको निर्माण कार्य चाँडै शुरु हुनेछ।'
अनित थापाले अघि भने, म सबैको जीटीए प्रमुख कार्यपाल हुँ। तपाईंहरु सबै मिलेर बस्नु हवस, गाउँको विकासको लागि एकबध्द हुन आवश्यक छ।'
उदघाटन कार्यक्रममा जीटीएको प्रमुख सल्लाहकार अमर लामाले सम्बोधन गर्दै भने, अनित थापा अहिले जनताको दुःखेसो सुन्न चारैतिर गइरहेका छन्। उनले भ्याई नभ्याई जनताको समस्या समाधानको लागि कार्य गरिरहेको र जनताले पनि अनित थापालाई नै खोजिरहेका छन्। अमर लामाले वर्तमानमा चलिरहेको मतदाता सूचीको विशेष गहन संसोधन एसआईआर सम्बन्धमा पनि सचेतनामूलक सम्भाषण दिएका थिए।
कार्यक्रमलाई क्षेत्रीय सभासद नुरी शेर्पाले पनि सम्बोधन गरेका थिए। यस उदघाटन कार्यक्रममा खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, क्षेत्रीय सभासद नुरी शेर्पा, सन्त मेरिज ग्राम पञ्चायतको प्रधान रोशनहाङ सुब्बा, सन्त मेरिज दुई ग्राम पञ्चायतको प्रधान सहदेव तामाङ, कर्माध्यक्ष बीरेन्द्र तामाङ, भागोप्रमो टुंग सन्त मेरिज समष्टिकाे सचिव दिपेस तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
यसै कार्यक्रममा जीटीए प्रमुख अनित थापाले सिङ्गेल चियाबारी क्षेत्रका जनसाधारण र विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुसित पनि भेटघाट गर्दै जनताको विभिन्न समस्याहरु सुने। यस अवसरमा उनलाई स्थानीयहरुले विभिन्न समस्याहरु लिएर ज्ञापन पत्र बुझाएका थिए। यस कार्यक्रममा नै टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप क्षेत्रबाट 32 जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुँदै पार्टीको झण्डा थापेका छन्।
हिन्दुस्थान समाचार / हनोक