
गान्तोक, 17 नोभेम्बर (हि.स.)। गान्तोक जिल्ला आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए) ले सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) को निगरानीमा बहुआपदा प्रतिक्रिया तयारी सुदृढ पार्ने उद्देश्यले एकदिने पूर्ण स्तरको मक ड्रिल सफलतापूर्वक सम्पन्न गर्यो। यस अभ्यासले तयारी, समन्वय, र स्थानीय समुदायको आपदा सचेतना थप बलियो बनाउने लक्ष्य राखेको थियो। गान्तोक र राब्दाङका विभिन्न रणनीतिक स्थलहरूमा गरिएको अभ्यासमा भूकम्प, पैह्रो, आगलागी, सीबीआरएन (रासायनिक, जैविक, विकिरण, आणविक) विपद्, तथा ग्लेशियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) लगायतका विभिन्न सम्भावित विपद् अवस्थाहरू समावेश गरिएका थिए। प्रमुख अभ्यासहरूमा टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयमा भूकम्पपश्चात् उद्धार कार्य, सिङ्ताम बजार र देवरालीमा आगो नियन्त्रण, ग्लेनमार्क फार्मास्युटिकल्समा सीबीआरएन विपद् प्रतिक्रिया, र श्रीवानी तथा छाङ्गु लगायतका सडकहरूमा पैह्रो प्रबन्धन समावेश थिए। पाल्जोर स्टेडियममा अस्थायी राहत शिविर स्थापना गरी उदहारण स्वरूप उद्धार, राहत वितरण, र मानवतावादी सहायता प्रक्रिया प्रदर्शन गरिएको थियो। एमजी मार्गस्थित ईन्सिडेन्ट कमाण्ड पोस्टले सम्पूर्ण सञ्चार र एजेन्सीहरूको समन्वय सम्भाल्यो। एनडीआरएफ, एसडीआरएफ बीआरओ, दमकल, पुलिस, स्वास्थ्य संस्थाहरू, र विभिन्न सरकारी विभागहरूले संयुक्त रूपमा सक्रिय भाग लिएका थिए। स्थानीय बासिन्दा, विद्यार्थी, व्यापारी, र स्वयंसेवकहरूको सहभागिताले अभ्यासलाई थप यथार्थपरक बनायो र समुदाय-आधारित तयारीलाई मजबुत बनाएको थियो।
हिन्दुस्थान समाचार / बिशाल