
नाम्ची, 17 नोभेम्बर हि.स.)। आज दिनको समयमा भूकम्पजन्य विपत्तिमा आधारित मक अभ्यास नाम्ची, रावाङ्ला, नामथाङ, याङयाङ र जोरथाङमा सञ्चालन गरियो।
यो अभ्यास नाम्ची जिल्लाको विपत्ति व्यवस्थापन प्राधिकरण (डी.डी.एम.ए) द्वारा सिक्किम राज्य विपत्ति व्यवस्थापन प्राधिकरण (एस.एस.डी.डी.एम.ए)सँग सहकार्यमा र राष्ट्रिय विपत्ति व्यवस्थापन प्राधिकरण (एन.डी.डी.एम.ए)को संरक्षणमा
आयोजना गरिएको थियो।
अभ्यासको नेतृत्व जिम्मेवार अधिकारी / जिल्लापाल (नाम्ची) अनुपा तामलिङ्ले गरिन् र उनलाई घटनाक्रम प्रमुख / अतिरिक्त जिल्लापाल नाम्ची, सुबास घिमिरे, अपरेशन प्रमुख / वरिष्ठ पुलिस अधिक्षक नाम्ची कर्मा ज्ञाम्त्सो भुटिया, योजनाकार प्रमुख / अतिरिक्त जिल्लापाल तिर्साङ तामाङ, रसद प्रमुख / लेखा अधिकृत वीनिता राई र विभिन्न विभागका सबै नोडल अधिकारीहरूले सहयोग गरे।
यो अभ्यासमा पुलिस उप महानिरीक्षक नाम्ची क्षेत्र, हेमराज राई र एस.एस.बीका उप कमाण्डेन्ट परवेज असलम अन्सारी प्रमुख पर्यवेक्षकको रूपमा सहभागी भएका थिए।
अभ्यासको सुरुमा रावाङ्लाबाट १५ किलोमिटर दूरीमा ७.२ म्याग्निट्युडको भूकम्पको परिकल्पना गरियो, त्यसपछि आपतकालिन सायरनले सर्वसाधारणलाई सचेत गरियो।
त्यसपछि, जिम्मेवार अधिकारी / जिल्लपाल र जिल्लाका अधिकारीहरू इन्टिग्रेटेड कमाण्ड र कन्ट्रोल सेन्टर (आईसीसीसी) मा स्थापित जिल्ला नियन्त्रण कक्षामा जम्मा भई, क्षतिको मूल्याङ्कन गरियो र प्रत्येक घटनास्थलका घटनाक्रम प्रमुखहरूले उद्धारको कार्यहरूलाई अनुगमन गरे।
दिनको समयमा भएको परिकल्पना आधारित मोक अभ्यास नाम्ची जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको थियो, जसमा केन्द्रीय पार्क आवासीय क्षेत्र, नाम्ची जिल्ला अस्पताल, नवोदय विद्यालय रावाङ्ला, नयाबजार जोरथाङ नगर पञ्चायत भवन र एलकेम प्रा. लि., मामरिङ्ग लगायतका संवेदनशील क्षेत्रहरू समावेश थिए।
नाम्ची जिल्ला अस्पतालमा, हल्का वा गम्भीर घाइते व्यक्तिहरूलाई तत्काल चिकित्सकीय उपचार दिइयो र तिनीहरूलाई उपयुक्त चिकित्सकीय निगरानीमा राखियो, जसमा स्वयम् सेवकहरूको सहयोग पनि प्राप्त थियो।
केन्द्रिय पार्कको एक आवासीय भवनमा भागदौडको घटना रिपोर्ट गरिएको थियो, जसमा १६ व्यक्ति भित्र फसेका थिए। घटनाक्रम प्रमुख /ग्राम विकास अधिकारी (नाम्ची) श्री उपेन्द्र राईको नेतृत्वमा, फायर र सर्विस डिपार्टमेन्ट, एस.डी.आर.एफ र श्री सत्य साईं स्वयंसेवकहरूको टोलीले सबै पीडितलाई भवनबाट बाहिर निकाले। घाइते व्यक्तिहरूलाई नाम्ची जिल्ला अस्पतालमा उपचारको लागि पठाइयो।
नवोदय विद्यालय रावाङ्लामा, एउटा भवन ध्वस्त हुनाले केही विद्यार्थीहरू घाइते भए। विद्यालयका सबै विद्यार्थीहरू घटनाक्रम प्रमुख, प्रहरी कर्मचारी र आपदा मित्र स्वयंसेवकहरूको सहायताले सुरक्षित रूपमा बाहिर निकालिए। घाइते विद्यार्थीहरूलाई रावाङ्ला पीएचसीमा उपचारको लागि पठाइयो।
यस्तै, रावाङ्लामा भूकम्पले उत्पन्न गरेको पहिराेले एन.एच-४१०मा अस्थायी रूपमा यातायात अवरुद्ध गरेको थियो। घटनाक्रम प्रमुख / महकुमा अधिकारी रावाङ्ला सरन कालिकोटे, सडक र पुल विभागको टोली र मेसिनरीका साथ तुरुन्तै मलबा सफा गरे र यातायात पुनःआरम्भ गरियो।
याङयाङमा, चट्टान र रूखहरू खस्दा याङयाङ–धाप्पर सडकमा पर्यटकहरू फसेका थिए। घटनाक्रम प्रमुख / महकुमा अधिकारी याङयाङ के.एल. दाहाल र उनका टोलीले तीव्रतासाथ सफाइ कार्य सम्पन्न गरे र सबै फसेका व्यक्तिहरूको सुरक्षित गमन सुनिश्चित गरे।
त्यसैगरी, एलकेम प्रा. लि., मामरिङ्गमा रसायनिक पदार्थको चुहावटको परिकल्पना गरिएको थियो, जसमा ३० भन्दा बढी कर्मचारीहरू फसेका थिए। घटनाक्रम प्रमुख / महकुमा अधिकारी (नामथाङ) प्रविन गौतमको नेतृत्वमा टोलीले उचित सुरक्षा प्रोटोकल पालना गर्दै उद्धार कार्य सम्पन्न गरे, र उद्धार गरिएका व्यक्तिहरूलाई नाम्ची जिल्ला अस्पतालमा चिकित्सकीय परीक्षण र उपचारको लागि पठाइयो।
नयाँ बजार जोरथाङ नगर पञ्चायत भवनमा भएको आगलागीको परिकल्पना पनि अभ्यासमा समावेश थियो। फायर, पुलिस, एस.डी.आर.एफ र डी.डी.एम.एका क्यूआरटी टोलीहरूले उद्धार, एस.ए.आर र ट्राएज अपरेशन्स सञ्चालन गरे। घटनाक्रम प्रमुख / महकुमा अधिकारी जोरथाङ योगेन स्याङ्देनले जोरथाङको स्वास्थ्य र कल्याण केन्द्रमा पीडितहरूको मूल्याङ्कन गरे र आगलागीको कारण विद्युत् सर्ट सर्किट रहेको निष्कर्षमा पुगे।
त्यसपश्चात्, जिल्लापाल / आर.ओ (नाम्ची) सुश्री अनुपा तामलिंग र अन्य जिल्लाका अधिकारीहरूले एस.एस.डी.एम.ए, गान्तोकद्वारा सञ्चालन गरिएको निर्देशोत्तर सेसनमा भाग लिए। सेसनमा उनले उद्धार र राहत कार्यहरूको विस्तृत रिपोर्ट प्रस्तुत गरिन् र जिल्लाको विपत्ति प्रतिकार्य प्रणालीलाई थप बलियो बनाउनका लागि सुझाव र सीमाहरू प्रस्तुत गरिन्।
हिन्दुस्थान समाचार / बिशाल