
लिपजिग, 18 नोभेम्बर (हि.स.)। जर्मनीले सोमबार भएको अन्तिम क्वालिफायर खेलमा स्लोभाकियालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै आगामी वर्ष हुने फिफा विश्व कप २०२६ का लागि आफ्नो स्थान पक्का गरेको छ। पहिलो हाफमै चार गोल गर्दै जर्मनीले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो र स्लोभाकियालाई मार्चमा हुने प्लेअफमा धकेलेको थियो।
चार पटकको विश्व विजेता जर्मनी, जो अघिल्ला दुई विश्व कप (२०१८ र २०२२) मा पहिलो चरणमै बाहिरिएको थियो, समूहमा १५ अंकका साथ शीर्ष स्थानमा रह्यो। स्लोभाकिया १२ अंकका साथ दोस्रो स्थानमा रह्यो।
खेलमा जित वा बराबरी कुनै पनि नतिजाले जर्मनीलाई क्वालिफिकेशन दिलाउन सक्थ्यो, तर टोलीले शुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो। १८औं मिनेटमा निक भोल्टेमाडेले लगातार तेस्रो खेलमा चौथो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि २९औं मिनेटमा सर्ज ग्नाब्रीले लियोन गोरेत्स्काको उत्कृष्ट पासमा गोल गर्दै स्कोर २–० बनाए। ३६औं मिनेटमा फ्लोरियन विर्ट्जको पासमा लेरोय सानेले शानदार कर्लिंग शटमार्फत तेस्रो गोल गरे। केवल पाँच मिनेटपछि विटर्जले अर्को असिस्ट दिँदा सानेले दोस्रो गोल पूरा गरे, जसले गर्दा जर्मनी आधा समयसम्म ४–० को बलियो अग्रता लिएको थियो।
सेप्टेम्बरमा ब्रातिस्लाभामा जर्मनीलाई हराएको स्लोभाकिया यसपटक जर्मन टोलीको प्रभुत्व अगाडि पूर्णरूपमा कमजोर देखियो।भोल्टेमाडेले खेलपछि भने, “हामीले शुरुदेखि अन्त्यसम्म उत्कृष्ट प्रदर्शन गर्यौं। रक्षा बलियो थियो र आक्रमण सृजनात्मक। जर्मनीका लागि खेल्न गर्वको कुरा हो, र अब हामी विश्व कपमा छौं।”
दोस्रो हाफमा जर्मनीको गति केही सुस्त भयो, तर बदलिएका खेलाडी रिडले बाकु र असान ओएद्राओगोले एक–एक गोल गर्दै स्कोर ६–० बनाए। १९ वर्षका ओएद्राओगो आफ्नो पहिलो खेलमै जर्मनीका लागि गोल गर्ने सबैभन्दा युवा खेलाड़ी बने।
जर्मनीले विश्व कपमा २१औं पटक योग्यता प्राप्त गरेको हो भने ब्राजिलले २३ पटक योग्यता प्राप्त गरेर पहिलो स्थानमा रहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी