दिल्लीमा ट्राईले गरेको मोबाइल नेटवर्क परीक्षणमा एयरटेल सबैभन्दा तीव्र, वीआई कल गुणस्तरमा अग्रणी, जियो समग्र रूपमा उत्कृष्ट
Trai


नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स‌.)। भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) ले दिल्लीमा मोबाइल नेटवर्क सेवाहरूको व्यापक मूल्याङ्कन गर्दा एयरटेलले डाटा स्पीडमा सबैभन्दा राम्रो प्रदर्शन गरेको छ, जबकि भोडाफोन–आईडिया (वीआई) ले कल गुणस्तरमा उत्कृष्टता देखाएको छ र जियो समग्र रूपमा सबैभन्दा स्थिर नेटवर्क भएको छ। महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) प्रायः सबै सूचकमा कमजोर प्रमाणित भयो।

परीक्षण अनुसार, एयरटेलको औसत डाउनलोड स्पीड १७३.७३ एमबीपिएस, वीआईको ६४.१७ एमबीपिएस र जियोको ५०.५५ एमबीपिएस थियो, जबकि एमटीएनएल मात्र १.५६ एमबीपिएस प्रदान गर्न सक्यो। कल ड्रप दरमा एयरटेलले उत्कृष्ट प्रदर्शन गर्दै एक पनि कल नकटेको पाइएको छ, तर एमटीएनएलमा १४.६४ प्रतिशत कल काटिएको उजुरी दर्ता भयो।

सञ्चार मन्त्रालयका अनुसार, ट्राईले यो वर्ष जुलाईमा दिल्लीका सडकहरू, भीडभाड बजार, हटस्पट स्थान, मेट्रो मार्ग र पैदल रूटसहित कूल ८५८.९ किलोमिटर शहर रूट, २१ स्थान, २५० किलोमिटर मेट्रो ट्र्याक र ३ किलोमिटर वाकिङ रूटमा स्वतन्त्र ड्राइभ टेस्ट गरेको हो। परीक्षणमा २जी, ३जी, ४जी र ५जी सेवाका कल र डाटा गुणस्तरलाई वास्तविक अवस्थामै मूल्याङ्कन गरिएको थियो। कल कनेक्ट सफलता दर, कल ड्रप, कल जोडिन लाग्ने समय, आवाज गुणस्तर, आवाज रोकिने दर, डाउनलोड/अपलोड स्पीड, लेटेन्सी, जिटर, प्याकेट ड्रप र भिडियो स्ट्रीमिङ ढिलाई लगायतका सबै पक्षहरूको विश्लेषण गरिएको थियो।

कल कनेक्ट सफलता दरमा एयरटेल ९९.४० प्रतिशत, जियो ९९.१२ प्रतिशत र वीआई ९९.१० प्रतिशतसहित लगभग समान रहे, जबकि एमटीएनएल ३५.२९ प्रतिशतमा अत्यन्त कमजोर रह्यो।कल जोडिन लाग्ने समयमा वीआई सबैभन्दा चाँडो रह्यो, एमटीएनएललाई सबैभन्दा बढी समय लाग्यो। कल आवाज गुणस्तरको औसत एमओएस स्कोर वीआईको ४.३०, एयरटेलको ३.९६, जियोको ३.७७ र एमटीएनएलको २.६० रह्यो। डाटा सेवामा एयरटेलको ५जी स्पीड सबैभन्दा राम्रो रह्यो, जहाँ हटस्पट क्षेत्रहरूमा यसको ५जी डाउनलोड गति १९८.७२ एमबीपिएस मापन भयो। वीआईको १४७.५१ एमबीपिएस र जियोको १०८.४१ एमबीपिएस थियो। एमटीएनएलको नेटवर्कमा ४जी र ५जी सेवा उपलब्ध नभएको पाइयो।

जियोको अनुरोधमा ट्राईले २४ देखि ३० सेप्टेम्बरबीच ८३४.९ किलोमिटर शहर मार्गमा दोहोर्‍याइएको ड्राइभ टेस्ट सम्पन्न गर्‍यो। यसमा जियोको कल सफलता दर ९९.५६ प्रतिशत, कल सेटअप समय ०.७९ सेकेन्ड, ड्रप कल दर ०.६१ प्रतिशत, औसत डाउनलोड स्पीड १५२.२२ एमबीपिएस र लेटेन्सी १८.७५ मिलिसेकेन्ड थियो।ट्राईले परीक्षण प्रतिवेदन सबै दूरसञ्चार कम्पनीहरूलाई पठाइसकेको छ। प्रतिवेदन अनुसार, दिल्लीमा एयरटेल स्पीडमा अग्रणी, वीआई कल गुणस्तरमा उत्कृष्ट र जियो स्थिर सेवामा सबैभन्दा राम्रो रह्यो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande