भारतीय एयरोस्पेस मेडिसिन सोसाइटीको 64औं वार्षिक सम्मेलन 20-21 नोभेम्बरमा बेङलुरुमा
Indian aerospace


नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। इण्डियन सोसाइटी अफ एयरोस्पेस मेडिसिन (आईएसएएम) को ६४औं वार्षिक सम्मेलन नोभेम्बर २०–२१ मा बेङलुरुमा आयोजना हुनेछ। सम्मेलनको उद्घाटन भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल ए.पी. सिंहले गर्नेछन्। यो सम्मेलन इन्स्टिच्युट अफ एयरोस्पेस मेडिसिन (आईएएम), बेङलुरुमा हुनेछ, जसमा देश र विदेशका झण्डै ३०० प्रतिनिधिहरू सहभागी हुनेछन्। डीआरडीओ र इस्रोका प्रमुख वैज्ञानिकहरू सहित सम्बन्धित संस्थानहरूका अनुसन्धानकर्ता पनि सहभागी हुनेछन्।

कार्यक्रममा इतिहासकार अंचित गुप्ताले एयर मार्शल सुब्रतो मुखर्जी स्मारक व्याख्यान दिनेछन्। सेवानिवृत्त एयर भाइस मार्शल दीपक गौडले एयर भाइस मार्शल एम.एम. श्रीनागेश स्मारक व्याख्यान दिनेछन्। सम्मेलनको अर्को प्रमुख आकर्षण ‘जेमी होर्मूसजी फ्रामजी मानेक शा प्यानल’ हुनेछ, जसमा पिक्सल एयरोस्पेस टेक्नोलोजीजका सीईओ तथा संस्थापक अवैस अहमद र इन्डिगो एयरलाइन्सका प्रमुख उडान सुरक्षा अधिकारी क्याप्टेन ध्रुव रेब्बाप्रगदासहित धेरै विज्ञहरूले व्याख्यान दिनेछन्।

यस सम्मेलनको विषय ‘एयरोस्पेस मेडिसिनमा नवप्रवर्तन: अनन्त सम्भावनाहरू’ रहेको छ, जसले एभिएटरहरूको सुरक्षा र प्रदर्शन सन्तुलनमा एयरोस्पेस चिकित्सकहरूले अपनाएका नवप्रवर्तनात्मक दृष्टिकोणमा प्रकाश पार्नेछ। सम्मेलनमा सयभन्दा बढी वैज्ञानिक अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछन्, जसले प्रतिनिधिहरूलाई वैज्ञानिक छलफल, प्रस्तुति र नेटवर्किङका अवसर प्रदान गर्नेछ। यसको उद्देश्य भारतमा एयरोस्पेस चिकित्सा अनुसन्धान र नीतिको भविष्य निर्माण गर्नु हो।

सन् १९५२ मा स्थापना भएको इण्डियन सोसाइटी अफ एयरोस्पेस मेडिसिन भारतमा एयरोस्पेस चिकित्साविज्ञानको ज्ञान र अभ्यास प्रवर्द्धनका लागि समर्पित एक मात्र दर्ता गरिएको संस्था हो। यसले सैन्य तथा नागरिक एयरोस्पेस चिकित्सा मात्र होइन, अन्तरिक्ष उडान कार्यक्रमका मानवीय पक्षहरूमा पनि कार्य गर्दछ। अनुसन्धानको प्रगति, ज्ञानको आदान-प्रदान र एयरोमेडिकल चुनौतीहरूको समाधान खोज्न सन् १९५४ देखि यसको वार्षिक वैज्ञानिक सम्मेलन आयोजना हुँदै आएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande