लोकसभा अध्यक्षले संयुक्त राष्ट्रमा सुधारहरूको आह्वान गरे
Om Birla


नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिदृश्यमा संयुक्त राष्ट्रको वर्तमान संरचनाको पुनर्मूल्यांकनको आवश्यकतामाथि जोड दिएका छन्। उनले विश्वका चुनौतीहरूको समाधानका लागि आवश्यक सुधारहरू त्वरित रूपमा गरिनु पर्ने आवश्यकता औंल्याए। बिरलाले भने, युद्ध, आतङ्कवाद, जलवायु संकट र डिजिटल जोखिमजस्ता गम्भीर समस्याहरूले ग्रस्त विश्वमा संवाद, सहकार्य र समयमै वैश्विक सुधार अब अपरिहार्य भएका छन्। उनले यो विचार विश्वका प्रमुख न्यायाधीशहरूको २६औं अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै व्यक्त गरे।

बिरलाले भारतको प्राचीन दर्शन ‘वसुधैव कुटुम्बकम्’ र संविधानमा समाहित शान्ति, सौहार्द र समताको सिद्धान्तलाई भारतको विश्वप्रति प्रतिबद्धताको आधार भएको बताए। संयुक्त राष्ट्रको शान्ति अभियानमा भारतको सक्रिय भूमिका, तीन लाखभन्दा बढी शान्ति सैनिकहरूको योगदान र कोभिड–१९ महामारीका बेला १५० भन्दा बढी देशलाई प्रदान गरिएको खोप सहयोगको उल्लेख गर्दै उनले भने, भारतले सधैं जिम्मेवारीका साथ विश्व सहकार्यको भावना लिएर कार्य गरेको छ।

लोकसभा अध्यक्षले आशा व्यक्त गरे कि न्यायपालिकासामु रहेका नयाँ चुनौतीहरू, जस्तै पर्यावरणीय न्याय, दिगो विकास, डिजिटल सुरक्षा र कृत्रिम बुद्धिमत्ताको नैतिक प्रयोगमाथि केन्द्रित यो सम्मेलन विश्व शान्ति, न्याय र स्थायित्वलाई अझ सुदृढ गर्नेछ। यस अवसरमा भारतीय जनता पार्टीका चिन्तक तथा राज्यसभाका सदस्य सुधांशु त्रिवेदी पनि उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande