भारतले तेस्रो टी–२० मा अस्ट्रेलियालाई पाँच विकेटले हरायो
Cricket


होबार्ट (अस्ट्रेलिया), २ नोभेम्बर (हि.स.)। भारतीय क्रिकेट टोलीले आइतबार होबार्टको बेलरिभ ओभल मैदानमा खेलेको तेस्रो टी–२० खेलमा अस्ट्रेलियालाई पाँच विकेटले पराजित गरेको छ। अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन बनायो। जवाफी इन्निङमा भारतले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा १८८ रन पूरा गर्दै जित हासिल गर्‍यो। यससँगै पाँच खेलको सिरिज १–१ को बराबरी गरेको छ। सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–२० अस्ट्रेलियाले जितेको थियो।

१८७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतले चौथो ओभरमा ३३ रनको योगफलमा पहिलो विकेट गुमायो। अभिषेक शर्माले १६ बलमा २५ रन बनाएर आउट भए। त्यसपछि छैटौँ ओभरमा शुभम गिल र आठौँ ओभरमा कप्तान सूर्यकुमार यादव आउट भए। गिलले १२ बलमा १५ रन र सूर्यकुमारले ११ बलमा २४ रन बनाए। तिलक वर्मा र अक्षर पटेलले मिलेर स्कोर १० ओभरसम्ममा १०० रनभन्दा माथि पुर्याए। तर अक्षर १७ रनमा आउट भए भने तिलक वर्मा २९ रनमा आउट भए।

यी दुईको आउट भएपछि वाशिङटन सुन्दर र जितेश शर्माले ४३ रनको अविजित साझेदारी गर्दै भारतलाई जिताए। वाशिङटनले २३ बलमा ३ चौका र ४ छक्कासहित नटआउट ४९ रन बनाए भने जितेशले १३ बलमा नटआउट २२ रन बनाए।

अस्ट्रेलियाको तर्फबाट नाथन एलिसले तीन विकेट लिए, मार्कस स्टोइनिस र जेभियर बार्टलेटले एक–एक विकेट झारे।

यसअघि टस हारेपछि ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन बनाएको थियो। सुरुवाती तीन ओभरमै अस्ट्रेलियाले दुई विकेट गुमायो — ट्राभिस हेड ६ रन र जोस इङ्लिस १ रनमै आउट भए। त्यसपछि कप्तान मिचेल मार्स र टिम डेभिडले पारी सम्हाले। तर नवौँ ओभरमा लगातार दुई बलमा अस्ट्रेलियाले दुई विकेट गुमायो। मार्स ११ रनमा आउट भए र अर्को बलमै मिचेल ओवेन बोल्ड भए।

टिम डेभिडले आक्रमक ब्याटिङ गर्दै ३८ बलमा ८ चौका र ५ छक्कासहित ७४ रन बनाए। उनका आउट भएपछि मार्कस स्टोइनिस र म्याथ्यु सर्टले छैटौँ विकेटका लागि ६४ रनको साझेदारी गरे। स्टोइनिसले ३९ बलमा ८ चौका र २ छक्कासहित ६४ रन बनाए भने सर्टले १५ बलमा २६ रन जोडे। बार्टलेट ३ रनमा नटआउट रहे।

भारतका लागि अर्शदीप सिंह सर्वाधिक सफल बलर रहे — उनले ३ विकेट लिए। वरुण चक्रवर्तीले २ विकेट झारे भने शिवम दुबेले १ विकेट लिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande