
कानपुर, २० नोभेम्बर (हि.स.)। पनकी थाना क्षेत्र अन्तर्गत बिहिबार बिहान एकै कोठामा चार मजदुरका शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ। कोठाभित्र एउटा पात्रोमा कोइलाको खरानी भेटिएको छ। अनुमान गरिएको छ कि कोइलाबाट निस्किएको विषालु धुवाँका कारण निसासिएर चारै जनाको मृत्यु भएको हो। पुलिस र फोरेन्सिक टोलीले घटनास्थलको अनुसन्धानपछि शवहरूलाई पोस्टमार्टमका लागि पठाएको छ।
साथी मजदुरहरूले बताए अनुसार, बिहान ती चारै जना कोठाबाट बाहिर नआएपछि, उनीहरूले ढोका ढकढक्याए, तर कुनै प्रतिक्रिया आएन। शंका लागेपछि पुलिसलाई खबर गरियो। पुलिसले ढोका तोडेर भित्र पसेपछि चारै मजदुरको शव भुइँमा देखियो। कोठाभित्र कोइलाको खरानी पनि भेटियो। प्रारम्भिक अनुसन्धानका अनुसार, चिसो मौसमका कारण उनीहरूले कोइलामा आगो बालेर कोठा बन्द गरी सुतेका थिए। वेन्टिलेसनको अभावका कारण उत्पन्न विषालु ग्यासले उनीहरूको सास रोकिन पुगेको अनुमान गरिएको छ।
पुलिस अनुसार, चारै मजदुर पनकी औद्योगिक क्षेत्रस्थित आयल सिड्स कम्पनीमा काम गर्ने र कम्पनी परिसरभित्रै भाडाको कोठामा बस्ने गर्थे। मृतकहरूको पहिचान संजु सिंह (२२), राहुल सिंह (२३), अमित वर्मा (३२) र दौड़ अन्सारी (२८) को रूपमा भएको छ। सबै देवरिया जिल्लाको टोकलपुर गाउँका बासिन्दा हुन्।
पुलिस आयुक्त रघुबीर लालका अनुसार, कोइला बाल्दा निस्किने कार्बन मोनोअक्साइड ग्यासले कोठाभित्रको अक्सिजन समाप्त गरिदिन्छ। यही कारणले यो घटना भएको देखिन्छ। सास फेर्न वायु नभएकाले विषालु ग्यासको मात्रा बढेर चारै जनाको मृत्यु भएको प्रारम्भिक निष्कर्षले बताउंछ। मृतकका परिवारलाई जानकारी दिइएको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी