
सिड्नी, 21 नोभेम्बर (हि.स.)। अष्ट्रेलियन ओपन सुपर ५०० ब्याडमिन्टन प्रतियोगितामा भारतका स्टार शटलर लक्ष्य सेनले उत्कृष्ट प्रदर्शन गर्दै आयुष सेठ्टीलाई सोझा खेलमा पराजित गरी पुरुष एकलको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार भएको क्वार्टर फाइनल खेलमा सातौं वरीय लक्ष्यले आयुषलाई २३-२१, २१-११ ले हराउँदै अन्तिम चारमा प्रवेश गरे।
पहिलो खेलमा आयुषले लक्ष्यलाई कडा चुनौती दिए। लक्ष्य ६-९ ले पछि परेका थिए, तर लगातार चार अंक जित्दै १३-१० को अग्रता बनाए। खेल उतारचढावपूर्ण रह्यो, आयुषले स्कोर २१-२१ बराबर गरे पनि लक्ष्यले निर्णायक अंक जित्दै पहिलाे सेट आफ्नो पक्षमा पारे।
दोस्रो खेल लक्ष्यका लागि एकतर्फी रह्यो। उनले शुरुवातमै ६-१ को अग्रता बनाए, जुन पछि बढ्दै १५-७ भयो र अन्ततः आयुषको चुनौती कमजोर पर्यो। भिडन्त ५३ मिनेटसम्म चली।
सेमिफाइनलमा लक्ष्य सेनको भिडन्त ताइपेईका दोस्रो वरीय चाउ तिएन चेनसँग हुनेछ। तिएन चेन, जो विश्व क्रमाङ्कमा ९औं स्थानमा छन् र २०१८ एशियाली खेलका रजत पदक विजेता हुन्, उनले फरहान अल्वीलाई १३-२१, २३-२१, २१-१६ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन्।
पुरुष एकलमा अब भारतका लागि अन्तिम आशा लक्ष्य सेन नै रहेका छन्, किनभने एच.एस. प्रणय र किदाम्बी श्रीकान्त शुरुको चरणमै बाहिरिएका थिए। भारतका शीर्ष पुरुष जोडी सात्विकसाईराज रंकीरेड्डी र चिराग सेठ्टी पनि क्वार्टर फाइनलमा खेल्दै छन्। उनीहरूले चीनी ताइपेईका सु चिङ हेंग र वू गुआन शुनलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका थिए। अब उनीहरूको भिडन्त पाँचौं वरीय इण्डोनेशियन जोडी फजर अल्फियान र मुहम्मद शोहेबुल फिक्रीसँग हुनेछ।
लक्ष्य सेनको शानदार प्रदर्शनले भारतीय चुनौतीलाई जीवित राखेको छ, र अब सबैको ध्यान उनको सेमिफाइनल खेलतर्फ केन्द्रित छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी