
ढाका, २२ नोभेम्बर (हि.स.)। बङ्गलादेशमा शुक्रबार बिहान आएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या शनिबार बिहानसम्म बढेर १० पुगेको छ। मृतकमध्ये ढाकामा ४, नरसिंहडीमा ५ र नारायणगन्जमा १ जनाको मृत्यु भएको छ। लगभग 2०० भन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी छ। सरकारले राहत तथा उद्धार कार्यसँगै नियन्त्रण कक्ष पनि स्थापना गरेको छ।
शुक्रबार बिहान १०:३८ बजे आएको भूकम्पका तेज झट्काले सर्वसाधारणमा ठूलो आतङ्क मच्चायो। ढाका ट्रिब्यूनले बङ्गलादेश मौसम विभागलाई उद्धृत गर्दै जनाए अनुसार, भूकम्पको तीव्रता रेक्टर स्केलमा ५.७ मापन गरिएको थियो र यसको केन्द्र नरसिंहडीको माधबाडीमा थियो। विभागले यसलाई मध्यम तीव्रताको भूकम्प बताए पनि यसले ठूलो जनधनको क्षति पुर्याएको छ।
भूकम्पका समयमा अधिकांश मृत्यु भगदड र डरका कारण भएका हुन्। अहिलेसम्म १० जनाको मृत्यु पुष्टि भएको छ। ढाकामा ४ जनाको मृत्यु भएको छ। ढाकाको अरमानी टोला क्षेत्रमा एउटा भवनको छतको रेलिङ खस्दा ३ जनाको मृत्यु भयो र धेरै घाइते भए। बंशाल पुलिस स्टेशनका सब–इन्स्पेक्टर आशिष कुमार घोषले यस घटनाको पुष्टि गरे। त्यस्तै मुग्दा क्षेत्रमा निर्माणाधीन भवनको रेलिङ खसेर ५० वर्षीय सुरक्षा गार्ड मोहम्मद मकसूदको मृत्यु भएको मुग्दा पुलिसले जनाएको छ।
यस्तै नरसिंहडीमा ५ र नारायणगन्जमा १ जनाको मृत्यु भएको छ। नरसिंहडीका सदर उपजिलाका उमर (१०), उनका बुबा दिलवर हुसैन, पलाश उपजिलाका मालितापारा निवासी ७५ वर्षीय काजेम अली भुइयां, ६० वर्षीय नासिर उद्दीन र शिबपुर–जयनगर युनियनका अज़कीटोला गाउँका ४५ वर्षीय फोरकान मियाँको मृत्यु भएको छ। नारायणगन्जको रूपगन्जमा भित्ता खसेर १० महिनाकी शिशु फातिमाको मृत्यु भएको छ। उनकी आमा कुलसुमा बेगम (३०) र एक अन्य व्यक्ति घाइते भएका छन्।
अन्तरिम सरकारकी स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगमले धेरै मानिस डरका कारण घाइते भएको बताइन्। सरकारले राहत तथा उद्धारसहित क्षतिको मूल्यांकन गर्न निर्देशन दिएको छ। विपद् व्यवस्थापन विभागमा एउटा नियन्त्रण कक्ष स्थापना गरिएको छ र सहयोग आवश्यक परेमा ०२५८८११६५१ मा सम्पर्क गर्न आग्रह
गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी