
वासिङ्गटन, २२ नोभेम्बर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयर जोहरान ममदानीबीच शुक्रबार व्हाइट हाउसमा भएको भेट अनपेक्षित रूपमा निकै संयत र आत्मीय रह्यो। भेटपछि ट्रम्पले न्यूयोर्कलाई सुरक्षित र सशक्त बनाउन ममदानीलाई पूर्ण सहयोग गर्ने आश्वासन दिए। ममदानीले पनि ट्रम्पको प्रशंसा गरे।
न्यूयोर्क सिटीका नव–निर्वाचित मेयर ममदानीले ट्रम्पसँग व्हाइट हाउसमा भेटघाट गरे। भेटपछि राष्ट्रपति ट्रम्पले भने, “हामी न्यूयोर्कलाई सुरक्षित र सुदृढ बनाउन नव–निर्वाचित मेयरलाई सम्पूर्ण सहयोग गर्नेछौँ।”
त्यसैगरी ममदानीले भने, “वार्ता मतभेदहरूमा होइन, न्यूयोर्कका नागरिकहरूको वास्तविक आवश्यकताहरूमा केन्द्रित रह्यो।”
ममदानीले भेट सम्बन्धी तस्वीर र भिडियो सामाजिक सञ्जाल एक्स मा शेयर गर्दै लेखे, “न्यूयोर्कमा कामकाजी मानिसहरू पछाडि परेका छन्। विश्वकै सबैभन्दा धनी शहरमा पाँचमध्ये एक जनाले २.९० डलरको ट्रेन वा बस भाडासमेत तिर्न सक्दैन। म यसबारे राष्ट्रपति ट्रम्पसँग कुरा गरें र अब यिनै मानिसहरूलाई फेरि हाम्रो राजनीतिका केन्द्रमा ल्याउनु पर्छ भन्ने कुरा राखे।”
उल्लेखनीय छ, ४ नोभेम्बरकाे मेयर चुनाउभन्दा ठीक एक दिनअघि राष्ट्रपति ट्रम्पले चेताउनी दिंदै भनेका थिए, यदि ममदानी विजयी भए भने यो न्यूयोर्क सिटीका लागि ‘आर्थिक र सामाजिक विपत्ति’ हुनेछ। ममदानीको विजयपछि उनको भाषणलाई “धेरै आक्रोशपूर्ण” भन्दै आलोचना गरेका थिए र वासिङ्गटनप्रति सम्मान नदेखाएसम्म उनी सफल हुन नसक्ने टिप्पणी गरेका थिए।
उता ममदानीले ट्रम्पलाई “सबैभन्दा ठूलो दुश्मन” भनेका थिए। उनले ट्रम्प प्रशासन अवैध आव्रजनविरुद्ध कडा कदम उठाइरहेको बताउँदै भनेका थिए, न्यूयोर्क शहरलाई प्रवासीहरूले नै बलियो बनाएका छन्, र अब यही शहर एक प्रवासी नेतृत्वमा चल्नेछ।
दुवैतर्फबाट एकअर्कामाथि कडा टिप्पणी भइरहेका बेला यो भेटघाटप्रति सबैको नजर लागेको थियो। तर अपेक्षाको विपरीत, शुक्रबार व्हाइट हाउसमा भएको वार्ता अत्यन्त संयत, सहज र हल्का वातावरणमा सम्पन्न भयो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी