जर्जिया भ्रमणमा भारतले सेरिकल्चर, वस्त्र–परिधान व्यापार र कार्पेट उद्योगमा सहयोग विस्तार गर्यो
Georgia-india


नयाँ दिल्ली, २३ नोभेम्बर (हि.स.)। भारतको वस्त्र मन्त्रालयको उच्चस्तरीय प्रतिनिधिमण्डल १७ देखि २१ नोभेम्बरसम्म जर्जियाको दौरामा रह्यो, जहाँ सेरिकल्चर अनुसन्धान, वस्त्र तथा परिधान व्यापार, कार्पेट उद्योग र प्राविधिक सहकार्य विस्तारका विषयमा बैठक तथा व्यापक छलफलहरू सम्पन्न भए। यो दौरा भारतको नवाचार क्षमताको पनि प्रमुख प्रदर्शनस्थल बन्यो। “५-इन-१ सिल्क स्टल” ले अन्तरराष्ट्रिय मञ्चमा विशेष ध्यान खिच्यो र यसलाई भारतको समृद्ध रेशमी विरासत तथा बलियो बजार सम्भावनाको प्रतीकका रूपमा मानियो।

केन्द्रिय रेशम बोर्डका सदस्य–सचिव तथा इन्टरनेशनल सेरिकल्चर कमिसनका सेक्रेटरी जेनेरल पी. शिवकुमारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ११औँ बीएसीएसए इन्टरनेशनल कन्फरेन्स ‘कल्च्युसेरी २०२५’ मा सहभागिता जनायो। उद्घाटन सत्रमा शिवकुमारले परम्परागत रेशम ज्ञान तथा सेरिकल्चर क्षेत्रमा भारतको विश्वव्यापी भूमिकाबारे प्रकाश पारे। उनले “द क्रोनिकल्स अफ वाइल्ड सिल्क” शीर्षकमा प्राविधिक शोधपत्र पनि प्रस्तुत गरे। त्यस्तै सीएसबीका निर्देशक (टेक) डा. एस. मन्थिरा मूर्तिले भारत–बुल्गेरिया सहकार्यमा विकसित बाइवोल्टिन रेशमकीरा संकरबारे आफ्नो शोधपत्र प्रस्तुत गरे।

दौरा अवधिमा प्रतिनिधिमण्डलले जर्जियाका विश्वविद्यालय, सेरिकल्चर प्रयोगशाला, अनुसन्धान केन्द्र, वस्त्र–परिधान कम्पनी, कार्पेट व्यापारी तथा जर्जियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग विस्तृत छलफल गर्यो। यी वार्ताहरूमा द्विपक्षीय वस्त्र व्यापार प्रवर्द्धन, उद्योगगत सहकार्य विस्तार तथा सेरिकल्चर क्षेत्रमा संयुक्त अनुसन्धानका नयाँ अवसरहरू पहिचान गर्ने विषयमा विशेष जोर दिइयो। साथै जर्जिया सरकारका वरिष्ठ अधिकारीहरूसँगको बैठकमा नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न, बजार पहुँच सुधार गर्न तथा वस्त्र, परिधान, कार्पेट र मूल्यवर्द्धित रेशमी उत्पादनहरूको व्यापार विस्तार गर्न सहमति जनाइयो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande