
जम्मू, २२ नोभेम्बर (हि.स.)। रियासी जिल्लामा रहेका श्री माता वैष्णो देवी इन्स्टिट्यूट अफ मेडिकल एक्सिलेन्सले सार्वजनिक गरेको पहिलो एमबीबीएस भर्ना सूची रद्द गर्न माग गर्दै भाजपा विधायकको एक प्रतिनिधिमण्डलले शनिबार राति जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हासँग भेट गरेको छ। जम्मू–कश्मीर विधानसभामा विपक्षी दलका नेता सुनील शर्माको नेतृत्वमा गएको प्रतिनिधि दलले चयन सूचीमा प्रश्न उठाउँदै भर्ना भएका धेरै विद्यार्थी एउटै समुदायका रहेको आरोप लगाएको छ।
राजभवनद्वारा जारी विज्ञप्ति अनुसार, सुनील शर्मासँगै विधायक शामलाल शर्मा, सुरजीत सिंह सलाथिया, देविन्दर कुमार मन्याल र रणवीर सिंह पठानिया पनि उपस्थित थिए।
बैठकपछि सुनील शर्माले भने, मेडिकल इन्स्टिट्यूटका पहिलो ब्याचमा धेरैजसो सीट एक विशेष समुदायका विद्यार्थीहरूले पाए, जसले शंका उत्पन्न गरेको छ। उनले भने, यो इन्स्टिट्यूट भक्तहरूको धार्मिक आस्थासँग जोडिएको छ र श्राइन बोर्डलाई प्राप्त हुने दान धार्मिक तथा सांस्कृतिक उद्देश्यका लागि हो। त्यसैले भर्ना प्रक्रियाले धार्मिक क्षेत्रको भावनालाई ध्यानमा राख्नु आवश्यक रहेको उनले बताए।
यस वर्ष ५० एमबीबीएस सीट स्वीकृत भएको इन्स्टिट्यूटमा पहिलो 2025–26 ब्याचमा ४१ विद्यार्थी एउटै समुदायका रहेको तथ्य बाहिर आएपछि विवाद बढेको छ। इन्स्टिट्यूटलाई माइनोरिटी इन्स्टिट्यूशनको दर्जा दिनुपर्ने माग पनि उठिरहेको छ। तर, अधिकारीहरूले भनेका छन्, इन्स्टिट्यूटलाई माइनोरिटी स्टाटस नदिइएकाले धर्मका आधारमा आरक्षण लागू हुन सक्दैन, र भर्ना पूर्ण रुपमा मेरिटका आधारमा गरिएका हुन्।
शर्माले भने, पार्टी भर्ना प्रक्रियाविरुद्ध छ र श्राइन बोर्डले सीट वितरण गर्दा माता वैष्णो देवीप्रतिको आस्थालाई प्राथमिकता दिनुपर्ने पक्षमा छ। जब प्रतिनिधिमण्डलले इन्स्टिट्यूटलाई माइनोरिटी स्टाटस दिन माग गरे कि भनेर सोधिएको प्रश्नमा शर्माले भने, उनीहरू त्यसका पक्षमा छैनन्, तर उनीहरूको चाहना भनेको भर्ना केवल वैष्णो देवीमा आस्था राख्नेहरूमा सीमित हुनुपर्छ भन्ने हो।
शर्माका अनुसार, उपराज्यपालले विषयको जाँच भइरहेको र युक्तिसंगत निर्णय लिइने आश्वासन दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी