जस्टिस सूर्यकान्तले भोलि देशका ५३औँ मुख्य न्यायाधीशका रूपमा शपथ लिने
Justice suryakant


नयाँ दिल्ली, २३ नोभेम्बर (हि.स.)। जस्टिस सूर्यकान्तले २४ नोभेम्बरमा देशका मुख्य न्यायाधीशका रूपमा शपथ लिने छन्। राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा ब्राजिलसहित विश्वका ७ देशका मुख्य न्यायाधीश तथा भारतका सर्वोच्च अदालतका न्यायाधीशहरू सहभागी हुनेछन्।

यस समारोहमा ब्राजिलसँगै भूटान, केन्या, मलेसिया, मौरिसस, नेपाल र श्रीलंकाका चीफ जस्टिस तथा उनीहरूको परिवारजन पनि सहभागी हुनेछन्। भारतीय न्यायपालिकाको इतिहासमा पहिलोपटक कुनै मुख्य न्यायाधीशको शपथ ग्रहण कार्यक्रममा यति धेरै विदेशी न्यायिक प्रतिनिधिमण्डल उपस्थित हुने भएको छ।

जस्टिस सूर्यकान्त देशका ५३ औँ चीफ जस्टिस बन्नेछन् र उनको कार्यकाल १४ महिनाको हुनेछ। उनी ९ फरवरी, २०२७ मा अवकाश प्राप्त गर्नेछन्। जस्टिस सूर्यकान्त हरियाणाबाट पहिला मुख्य न्यायाधीश बन्ने व्यक्ति हुन्। हालका मुख्य न्यायाधीश बीआर गवई आज रिटायर हुनेछन्। जस्टिस बीआर गवईको अन्तिम कार्य दिवस २२ नोभेम्बर थियो।

शपथ ग्रहणभन्दा अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जस्टिस सूर्यकान्तले अदालतहरूमा थुप्रिएका मुद्दाहरू समाधान गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने बताए। उनको भनाइमा, सर्वोच्च अदालत ७५ वर्ष पुगेपछि भारतका फैसलाहरू अन्य देशमा पनि नजीरका रूपमा उद्धृत गरिन्छन्, त्यसैले हाम्रो दर्शन र न्यायशास्त्र अझ सबल हुन आवश्यक छ।

मिडिया रिपोर्टिङबारे बोल्दै उनले केही मिडिया संस्था जिम्मेवार भएर अदालतसम्बन्धी खबर सही ढंगले प्रस्तुत गर्ने गरेको बताए। सोही क्रममा सामाजिक सञ्जालमा सर्वोच्च अदालत र न्यायाधीशहरूको ट्रोलिङसम्बन्धी प्रश्नमा उनले भने, सामाजिक सञ्जालमा को–कसले के भन्छ, त्यसले हामीमा कुनै असर पार्दैन। उनले सामाजिक सञ्जाललाई सोसल होइन, अनसोसल मिडिया भनी बताए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande