
जोहान्सबर्ग (दक्षिण अफ्रिका), 23 नोभेम्बर (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय समय अनुसार शनिबार यहाँ जी–20 शिखर सम्मेलनको दोस्रो सत्रमा जलवायु परिवर्तनको मुद्दा प्रमुखताका साथ उठाए। उनले भने, आज विपद्को तयारी र त्यसको सामना गर्न विश्वले आपसी मजबुत सहयोगका साथ हातेमालो गर्न आवश्यक छ।
प्रधानमन्त्रीको आधिकारिक ‘एक्स’ ह्यान्डलमार्फत यो जानकारी दिइएको हो। उनले विपद् तथा जलवायु परिवर्तनका चुनौतीतर्फ विश्व समुदायको ध्यानाकर्षण गराए। प्रधानमन्त्री मोदीले लेखे, ‘‘जोहान्सबर्गमा जी–20 सम्मेलनको दोस्रो सत्रमा विपद् तथा जलवायु परिवर्तनको सामना गर्न सक्षम विश्व निर्माण गर्ने र ऊर्जा संक्रमण सुनिश्चित गर्ने विषयमा विशेष जोर दिइयो। यो बलियो खाद्य सुरक्षा योजनासँगै अपरिहार्य पनि हो। भारत यी सबै मोर्चामा सक्रियतापूर्वक काम गरिरहेको छ र मानव–केन्द्रित तथा सबैलाई साथ लिएर अघि बढ्ने भविष्य निर्माण गर्दैछ।’’
प्रधानमन्त्री मोदीले जी–20 का नेताहरूलाई सम्झाए, भारतले 2023 मा अध्यक्षता अवधि ‘डिजास्टर रिस्क रिडक्सन वर्किङ ग्रुप’ गठन गरेको थियो। उनले भने, यस मुद्दालाई प्राथमिकतामा राखेकै कारण भारतले दक्षिण अफ्रिकाको प्रशंसा गरेको हो। मोदीका अनुसार, प्राकृतिक विपद् आज मानवजातिका लागि ठूलो चुनौती बनेका छन् र यीबाट जोगिन विश्वव्यापी सहयोग अत्यावश्यक छ।
उनले भने, अब समय आएको छ कि अन्तरिक्ष प्रविधि मानवताका हितमा उपयोग होस्। प्रधानमन्त्रीले ‘जी–20 ओपन स्याटेलाइट डेटा पार्टनरशिप’ को प्रस्ताव पनि राखे। विकसित देशहरूले जलवायु परिवर्तनका लागि आवश्यक आर्थिक सहयोग समयमै र किफायती दरमा उपलब्ध गराउनुपर्ने उनले आह्वान गरे। नयाँ दिल्लीमा तय भएका ‘डेक्कन प्रिन्सिपल्स’ का आधारमा एक जी–20 रोडम्याप बनाउन पनि उनले अपील गरे।
यस अवसरमा प्रधानमन्त्री मोदीले विश्वभरका धेरै नेताहरूसँग भेटघाट गरेका छन्। उनले ‘एक्स’ मा भेटघाटसम्बन्धी धेरै तस्वीरहरू पनि साझा गरेका छन्। उनले विश्व व्यापार संगठनकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेलासंग पनि भेट गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी