
नयाँ दिल्ली, २४ नोभेम्बर (हिस.)। प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण अफ्रिकाको तीनदिने भ्रमणपछि आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री मोदी त्यहाँ जी–२० शिखर सम्मेलनमा सहभागी भएका थिए।
सम्मेलनमा उनले कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग रोक्नका लागि वैश्विक समझौताको आह्वान गर्दै महत्वपूर्ण प्रविधि वित्त–केन्द्रित होइन, मानव–केन्द्रित हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री मोदीले आइतबार एक्समा पोस्ट गर्दै भने, ‘‘सफल जोहान्सबर्ग जी–२० शिखर सम्मेलनले सुखी र दिगो पृथ्वीका लागि योगदान पुर्याउनेछ। विश्व नेताहरूसँग भएका मेरा बैठक र कुराकानीहरू निकै फलदायी रहे, जसबाट भारतका विभिन्न देशहरूसँगका द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुनेछन्। यो सम्मेलन सफलतापूर्वक आयोजना गरेको लागि दक्षिण अफ्रिकाका जनता, राष्ट्रपति रामाफोसा र दक्षिण अफ्रिका सरकारलाई धन्यवाद दिन चाहन्छु।’’
प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकामा बेलायतका प्रधानमन्त्री स्टोर्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंग, ब्राजिलका राष्ट्रपति लूला दा सिल्भा, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, जापानकी प्रधानमन्त्री साने ताकाइची, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा सँग भेटवार्ता गरे।
अर्को एक्स पोस्टमा उनले भने, ‘‘जोहान्सबर्गमा दक्षिण अफ्रिकाको गिरमिटिया गीत ‘गंगा मैया’ को प्रस्तुति अत्यन्तै भावुक बनाउने थियो। यो गीत तमिल भाषामा सुन्नु आफैंमा अनौठो अनुभव रह्यो। यसमा धेरै दशकअघि यहाँ आएका मानिसहरूको आशा र दृढ संकल्पकै भावना समाहित छन्। कति नै चुनौती आए पनि उनीहरू विचलित भएनन्। गीत र भजनमार्फत् उनीहरूले भारतलाई आफ्नो हृदयमा जोगाइराखे। आफ्नै जरा–संस्कृतिसँगको यस प्रकारको जोड आज पनि जीवित देख्दा मन अत्यन्तै प्रफुल्लित भयो।’’
---------------
हिन्दुस्थान समाचार / भवानी थामी