
न्यूयोर्क, 4 नोभेम्बर (हि.स.)। न्यूयोर्क शहरको मेयर पदको चुनाउ अन्तिम चरणमा अत्यन्त रोचक बनेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार खुला रूपमा मैदानमा उत्रिए। उनले प्रभावशाली उम्मेदवार जोहरान ममदानीको कडा आलोचना गर्दै सार्वजनिक रूपमा एन्ड्र्यु कुओमोको समर्थन गरे। ट्रम्पले भने, ममदानी कट्टर कम्युनिस्ट हुन्। यदि उनी मेयरको चुनाउ जिते भने न्यूयोर्क शहरलाई दिइने संघीय सहयोग रकम रोकिनेछ।
फक्स न्युजको रिपोर्ट अनुसार, ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लामो पोस्ट गर्दै चेताउनी दिएका छन्, ममदानीको नेतृत्वमा न्यूयोर्क शहर “आर्थिक र सामाजिक विपत्तिको” सामना गर्नेछ। उनले लेखे, “यदि कम्युनिस्ट उम्मेदवार जोहरान ममदानी न्यूयोर्क सिटीको मेयर बने भने म आफ्नो प्रिय पहिलो घरका लागि आवश्यक न्यूनतम रकमबाहेक सबै संघीय सहयोग रोक्नेछु। कम्युनिस्ट ममदानीले यो महान् शहरलाई सम्हाल्न सक्दैनन्!”
ट्रम्पले यो पनि भने, जसले कर्टिस स्लिवालाई भोट दिन्छ, त्यो ममदानीलाई भोट दिएको जस्तै हुनेछ। उनले मतदाताहरूसँग आग्रह गरे, “भलै तपाईहरूले व्यक्तिगत रूपमा एन्ड्र्यु कुओमोलाई मन पराउनुहुन्न, तर उनलाई भोट दिनुहोस्। उहाँले उत्कृष्ट काम गर्नुहुनेछ भन्ने आशा गर्नुहोस्।”
यसमा ममदानीले तीव्र प्रतिक्रिया दिएका छन्। उनले भने, “न्यूयोर्कवासीलाई चाहिएको मेयर उनीहरूको लागि होइन, डोनाल्ड ट्रम्प र उनको प्रशासनको लागि चाहिएको मेयर हो।” एलन मस्कले पनि कुओमोको समर्थन गरेपछि ममदानीले भने, “संयुक्त राज्यका राष्ट्रपति र विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एकजनाले पनि चुनाउको अन्तिम समयमा हस्तक्षेप गरे तापनि म नै जित्नेछु।” ममदानीले कुओमोलाई “ट्रम्पको कठपुतली” समेत बताए।
हिन्दुस्थान समाचार / भवानी थामी