
बेङ्लुरु, 5 नोभेम्बर (हि.स.)। कर्नाटकको कलबुर्गी जिल्लाको चित्तपुरमा आरएसएस (राष्ट्रिय स्वयंसेवक सङ्घ) र भीम आर्मीबीच हालै उत्पन्न तनावको पृष्ठभूमिमा कलबुर्गी उच्च अदालतको पीठको निर्देशनअनुसार बुधबार साँझ बेङ्लुरुमा शान्ति बैठकको दोस्रो चरण आयोजना गरिने भएको छ। यो बैठक विशेष महत्वको मानिएको छ, किनभने यसले पथ सञ्चलनको अनुमति दिने सम्बन्धमा हुने निर्णयमा प्रमुख भूमिका खेल्नेछ।
उच्च अदालतको आदेशअनुसार, बैठकको अध्यक्षता राज्यका महाधिवक्ता शशि किरण शेट्टीले गर्नेछन्। चित्तपुर घटनाको सन्दर्भमा आरएसएसतर्फबाट निवेदन दर्ता गर्ने अशोक पाटिलसहित केवल पाँच जनालाई जिल्ला प्रशासनले बैठकमा सहभागी हुन निम्तो दिएको छ।
बैठकमा आरएसएस याचिकाकर्ता अशोक पाटिल, कृष्णा जोशी, प्रह्लाद विश्वकर्मा, आरएसएसका वकिल अरुण श्याम र वदिराज कडलूर सहभागी हुनेछन्। जानकारी अनुसार, भीम आर्मी लगायत नौ अन्य संगठनहरूलाई शान्ति भङ्ग हुने आशंकाका कारण बैठकमा आमन्त्रण गरिएको छैन, र ती संगठनहरूले उच्च अदालतमा कुनै निवेदन पनि दर्ता गरेका थिएनन्।
बैठकमा महाधिवक्ता र जिल्ला प्रशासनले आरएसएस समर्थक नेताहरू र वकिलहरूबाट लिखित बयान लिनेछन्। यस शान्ति बैठकको प्रतिवेदनका आधारमा नोभेम्बर ७ मा कलबुर्गी उच्च अदालतको पीठमा अन्तिम सुनुवाइ हुनेछ र पथ सञ्चलनको अनुमति दिनेबारे निर्णय गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी