
मिर्जापुर, 5 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको मिर्जापुर जिल्लामा बुधबार बिहान चुनार रेलवे स्टेशनमा ठूलो रेल दुर्घटना भएको छ। नेताजी एक्सप्रेस ट्रेनको ठक्करमा परेर आठ जना भक्तजनको मृत्यु भएको छ, जसमा छ जना महिला पनि सामेल छन्। दुर्घटनामा धेरै जना गम्भीर घाइते भएका छन्, जसलाई विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ।
घटना बिहान करिब ९:३० बजे चुनार रेलवे स्टेशनको प्लेटफर्म नम्बर ३ मा भएको हो। जानकारी अनुसार, चोपनबाट आएको यात्रु रेल स्टेशनमा पुगेपछि कार्तिक पूर्णिमा पर्वको भीडका कारण केही भक्तजन प्लेटफर्मतिर नउत्री अर्को पट्टि ट्र्याकबाट तल झर्न थालेका थिए। त्यही बेला तीव्र गतिमा आइरहेको नेताजी एक्सप्रेस त्यही ट्र्याकबाट गुज्रिँदै थियो। भक्तजनले केही बुझ्न नपाउँदै ट्रेनले धेरै जनालाई ठक्कर दियो।
दुर्घटनापछि घटनास्थल हृदयविदारक दृश्यमा परिणत भयो। रेल ट्र्याकमा चारैतिर शवहरू छरिएका थिए। पुलिसले शवका टुक्राहरू संकलन गरी पोष्टमार्टमका लागि पठाएको छ। घाइते यात्रुहरूलाई तुरुन्तै जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि पुर्याइएको छ। मृतकहरू मध्ये अधिकांश कार्तिक पूर्णिमा स्नानका लागि गङ्गा घाट जाँदै गरेका भक्तजन भएको जनाइएको छ।
अपर पुलिस अधीक्षक (अपरेशन) मनीष मिश्राका अनुसार, यस दुर्घटनामा मृत्यु भएका ६ महिला मृतकको पहिचान भइसकेको छ। तीमध्ये सविता (२८) पत्नी राजकुमार निवासी कमरिया थाना राजगढ़, साधना (१६) छोरी विजय शंकर बिन्द, शिवकुमारी (१२) छोरी विजय शंकर, अप्पू देवी (२०) छोरी श्यामप्रसाद, सुशीला देवी (६०) पत्नी स्व. मोतीलाल निवासी महुआरी थाना पड़री, र कलावती देवी (५०) पत्नी जनार्दन यादव निवासी बसवा थाना कर्मा, जिल्ला सोनभद्र हुन्। अन्य मृतकहरूको पहिचान गर्ने कार्य जारी रहेको छ।
दुर्घटनाको जानकारी पाएपछि रेलवेका वरिष्ठ अधिकारी र प्रशासनिक टोली घटनास्थलमा पुगेका छन् र राहत कार्य शुरू गरे। मुख्यमन्त्री योगी आदित्यनाथले यस हृदयविदारक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उचित उपचार र राहत व्यवस्थाको सुनिश्चितता गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी